चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले पदभार ग्रहण गरेका छन् । सोमवार दिउँसो बोर्ड पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनले सोमवार नै सूचना तथा सञ्चार मन्त्रालयबाट नियुक्ति पत्र बुझेका हुन् । उनलाई बधाई तथा शुभकामना दिन चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरु बोर्डमा पुगेका थिए । सबैले सामाजिक दूरी कायम गरेर अध्यक्ष दाहाललाई बधाई तथा शुभकामना व्यक्त गरे ।

पदभार ग्रहण गरेपछि नवनियुक्त अध्यक्ष दाहालले वर्तमान समयमा कोरोना भाइरसले चलचित्र क्षेत्रमा सृजना गरेको कठिन परिस्थितिलाई सबै संघ संस्थाहरुको सहमति र सहभागितामा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यो चुनौतीको समयमा आफू सम्पूर्ण चलचित्रकर्मीको साथमा रहेको र बोर्डको क्षेत्राधिकारभित्र रहेका कुरालाई बोर्डबाटै निवारण गर्ने उनले बताए ।
चलचित्र विकास बोर्डका सदस्यहरुसँग तुरुन्तै बैठक बसेर यो कठिन परिस्थितिमा समग्र चलचित्र क्षेत्रको व्यावसायिक पुर्नस्थापनका लागि बोर्डको आन्तरिक स्रोतबाट प्याकेज घोषणा गर्ने पनि अध्यक्ष दाहालले आश्वासन दिए । उनले भने- ‘सबै संघ संस्थाहरुको भावना समेटिने गरि चलचित्र विकास बोर्डको आन्तरिक स्रोतबाट चलचित्र क्षेत्रको पुनःसञ्चालनका लागि प्याकेज घोषणा गर्नेछु ।’

उनले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा चलचित्र क्षेत्रका सम्बोधन हुन नसकेका कुरा सरकारसँग माग गर्दै जाने र यो कठिन परिस्थितिको लडाईं सँगै लड्न पनि अपिल गरे । अध्यक्ष दाहालले श्रमजीवि चलचित्रकर्मीका योजना, छायांकनका लागि नेपाल अभियान, काठमाडौंभित्र फिल्म स्टूडियो निर्माणको कार्य पनि सम्पूर्ण चलचित्रकर्मीसँग मिलेर अगाडि बढाउने प्रतिवद्धता जनाए ।
सबैलाई खुल्ला मनले छलफल गर्ने वातावरण तयार गर्ने बताउँदै उनले अगाडि भने- ‘अहिले हाम्रो अगाडि चलचित्र क्षेत्रलाई पुनःसञ्चालन गर्नुपर्ने चुनौती छ । हलहरु खोल्नुपर्ने छ । निर्माताले चलचित्र प्रदर्शन गर्ने वातावरण तयार गर्नुछ । यी कार्य भएपछि चलचित्र निर्माणको गति अगाडि बढाउनु पर्ने हुन्छ । त्यसैले मेरो सबैभन्दा पहिलो प्रयास चलचित्र क्षेत्रलाई पुनःसञ्चालन गर्नु हुनेछ ।’

उनले हल सञ्चालक, निर्माता, प्राविधिक, कलाकारहरुको समस्याको सम्बोधन गर्न सम्पूर्ण चलचित्रकर्मीको आफूले साथ र सहयोगको अपेक्षा राखेको बताए । उनले आफू चलचित्रकर्मीहरुको साथमा रहने प्रतिवद्धता जनाउँदै थपे- ‘म सधैं तपाईंहरुको साथमा रहनेछु । तपाईंहरुको साथ छाड्नु परेको दिन मेरो पनि कुनै अस्तित्व रहने छैन । त्यसैले तपाईंहरुका अफ्ठ्याराहरुलाई फुकाउने प्रयास गर्नेछु ।’




