मधुसँग हमालले मनाए जन्मदिन



अभिनेता राजेश हमालले आफ्नो ५६औं जन्मदिन परिवारसँग मनाएका छन् । कोरोना भाइरसका कारण विगत तीन महिनादेखि सरकारले जारी गरेको लकडाउनका कारण घरमै सीमित भएका उनले मंगलवार आफ्नै निवास कपुरधारामा बर्थडे केक काटेर जन्मदिन मनाएका छन् । उनले परिवारसँग जन्मदिन मनाएको तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट्याएका छन् ।

हमालले फेसबुकमा साझेदार गरेको तस्विरमा उनी श्रीमती मधु भट्टराईलाई केक खुवाउँदै देखिएका छन् । हमालले घर नजिकै रहेको एक नेवारी रेस्टुरेन्टमा पुगेर बर्थडे केक काटेर एक नेपाली गीतमा नाचेको भिडियो पनि फेसबुकमा शेयर गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा पूजाआजा गरेको एक भिडियो पनि फेसबुकमा राखेका छन् ।

यस्तै, जन्मदिनको अवसरमा हमाललाई एक शुभचिन्तकले घरमै पुगेर आकर्षक साइकल उपहार दिएका छन् । उपहार स्वरुप पाएको साइकल लिँदै गरेको भिडियोमा हमाल निकै खुसी देखिएका छन् । उनले आफ्ना हेयर डिजाइनर राम ठाकुरलाई बर्थडे केक खुवाएको तस्विर पनि फेसबुकमा पोस्ट्याउँदै आफूलाई जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu