विश्वभर विनाश निम्त्याएको कोरोना भाइरसका कारण नेपाली चलचित्र क्षेत्रमा ठूलो प्रभाव परेको छ । विगत तीन महिनादेखि जारी लकडाउनका कारण चलचित्र क्षेत्रमा कुनै गतिविधि भएका छैनन् । सिनेमा हलहरु बन्द हुॅंदा छायांकन सकिएका चलचित्रको प्रदर्शन अलमलमा छन् । चलचित्रको निर्माण पनि रोकिएको छ । लकडाउनका कारण चलचित्र क्षेत्रमा कुनै प्रकारका गतिविधि नहुँदा हजारौंको संख्यामा बेरोजगारी बढेको छ ।

सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोनाबाट अति प्रभावित क्षेत्र मानिएको चलचित्र क्षेत्रका कुनै समस्याको सम्बोधन गर्न सकेन । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले पदभार ग्रहण गर्दैगर्दा फिल्म क्षेत्रलाई पुनःस्थापित गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएपछि चलचित्रकर्मीमा आशाको किरण छाएको छ । उनले चाँडै बोर्डको आन्तरिक स्रोतबाट राहत प्याकेज घोषणा गर्ने पनि आश्वासन दिएका छन् ।
कोरोनाको कहरले चलचित्रकर्मीमा निराशा छाएको अवस्थामा निर्देशक तथा निर्माता मिलन चाम्सले भने चलचित्र क्षेत्रलाई घुँडा टेकेर भए पनि माथि उठाउने विश्वास व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै आफूहरु नआत्तिएको र अब काम सुरु हुने बताएका छन् । उनको यो भनाईबाट बुझ्न सकिन्छ कि उनी चाँडै नयाँ चलचित्रको छायांकन सुरु गर्दैछन् ।

निर्देशक चाम्स अहिले ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को तयारीमा छन् । दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्धि तामाङ, विजय लामा, कविता आलेलगायतका कलाकारहरुको मुख्य भूमिका रहने यो चलचित्र २०२१ मा विश्वभर प्रदर्शन गर्ने उनको योजना थियो । तर, कोरोनाले केही पछाडि धकलेको छ । उनी लकडाउन खुलेपछि चलचित्रको छायांकन सुरु गर्दैछन् ।


