
कोरोना भाइरसले विश्व फिल्म बजारमा ठूलो प्रभाव पारेको छ । यसको संक्रमणको जोखिमबाट बच्न विश्वका कैयन राष्ट्रमा सिनेमा हल बन्द गरिएको छ । जसले गर्दा विश्वमा विभिन्न भाषामा निर्माण हुने फिल्मको प्रदर्शन/निर्माण सबै रोकिएका छन् । यो अवस्थामा फिल्म रिलिजका लागि मेकरहरुले ओटीटी प्लेटफर्म रोजिरहेका छन् । नेपालमा पनि यसको सुरुवात भैसकेको छ ।
कोरोनाका कारण सिनेमा हल बन्द भएपछि ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न नेपाली निर्माताहरु आकर्षित भएको समयमा एनसेलले आफ्नो भिडियो सेवा अन्तर्गतको आईफ्लिक्स सेवा बन्द गरेको छ । एनसेलले जेठ २४ देखि आफ्नो भिडियो सेवा अन्तर्गतको आईफ्लिक्स सेवा बन्द गरेको हो । एनसेलले एक सूचना जारी गर्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

ग्राहकहरुलाई विश्वस्तरीय मनोरञ्जन प्रदान गर्न २०७५ सालमा एनसेलले आइफ्लिक्ससँग सहकार्य गरेको थियो । यसमा ‘जात्रै जात्रा’, ‘यात्रा’, ‘प्रसाद’, ‘क्याप्टेन’, ‘छक्का पञ्जा २’, ‘कबड्डी कबड्डी कबड्डी’ लगायतका नेपाली फिल्म रिलिज भैसकेका छन् । नेपाली दर्शकलाई लक्षित गरेर एनसेलले आईफ्लिक्सका लागि नेपाली निर्माताबाट महँगोमा फिल्म खरिद गर्ने गरेको थियो ।
नेपाली दर्शकमाझ छोटो समयमा लोकप्रिय बनेको आइफ्लिक्स नेपालमा बन्द भएपछि नेपाली फिल्मका लागि एउटा बलियो ओटीटी प्लेटफर्म गुमेको छ । यसलाई फिल्मकर्मीहरुले ठूलो क्षतिको रुपमा लिएका छन् । एनसेलले अन्तराष्ट्रिय भिडियो अन डिमान्ड सर्भिस आइफ्लिक्स नेपालमा बन्द गर्नुको कारण खुलाएको छैन । न त पुनः सुचारु हुने विषयमा नै कुनै जानकारी दिएको छ । कतिपय सिरीज निर्माताहरुलाई दिएको एडभान्स पनि फिर्ता गर्नु नपर्ने गरी सिरीजहरु नबनाउन सुचित पनि गरेको बुझिएको छ ।




