अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतबीच नयाँ प्रोजेक्टमा टिमअप हुनसक्ने सम्भावना बढेको छ । लकडाउनका कारण चलचित्र ‘प्रेमगीत ३’ को प्रदर्शन स्थगित भएपछि फुर्सदिला बनेका प्रदीपले लकडाउनकै समयमा निर्देशक राउतसँग केही पटक भेट गरेका छन् । बुझिएअनुसार, उनी आफैं चलचित्रको प्रस्ताव लिएर निर्देशक राउतसामु पुगेका हुन् ।
अहिले निर्देशक राउतको पाइपलाइनमा ‘मेरो एउटा साथी छ २’ र निर्माता रोहित अधिकारीको गरि दुई चलचित्र छन् । लकडाउन खुलेपछि यी दुई चलचित्रमध्ये एकको छायांकन आरम्भ गर्ने उनको योजना छ । प्रदीप पनि ‘प्रेमगीत ३’ प्रदर्शन भएपछि हेमराज विसीको चलचित्र ‘अशुभ विवाह’ गर्ने तयारीमा छन् । यो चलचित्रपछि उनी निर्देशक राउतसँग काम गर्न इच्छुक रहेको बुझिएको छ ।

‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ जस्ता यादगार चलचित्रको क्याप्टेनसिप सम्हालिसकेका निर्देंशक राउत प्रदीपसँग टिमअप गर्न सकारात्मक रहेको स्रोत बताउँछ । तर, दुईबीच मौखिक वा लिखित सम्झौता भने भएको छैन । लकडाउनको समयमा उनीहरुबीच चलचित्रको कन्सेप्टको बारेमा छलफल भएको बुझिएको छ । यद्यपि, यसबारेमा दुवैले कुनै जानकारी दिएका छैनन् ।
यसअघि निर्देशक दिनेश राउत र अभिनेता प्रदीप खड्काबीच चलचित्र ‘भैरवी’ मा टिमअप भएको थियो । यो चलचित्र गर्न अभिनेता प्रदीपले ५ लाख एडभान्स समेत बुझेका थिए । तर, यो चलचित्र अहिलेसम्म निर्माण हुन सकेको छैन । निर्देशक राउत र निर्माता सुवास गिरीले लामो समयदेखि चलचित्रको स्क्रिप्टमा काम भइरहेको बताए पनि अब यो चलचित्र निर्माण हुने सम्भावना न्यून छ ।




