कोरोना भाइरसका कारण जारी लकडाउनका कारण प्रदर्शन स्थगित भएको चलचित्र ‘प्रेमगीत ३’ दश महिनापछि मात्रै प्रदर्शन हुने भएको छ । सरकारले लकडाउन खुलेको ६ महिनासम्म हलमा चलचित्र प्रदर्शन गर्ने वातावरण नहुने देखेपछि निर्माता सन्तोष सेनले आगामी नयाँ वर्षमा चलचित्र प्रदर्शन गर्ने सोच बनाएका छन् । उनले यो भयावह स्थिति तत्कालै सामान्य भए आगामी दशैं नभए २०७८ सालको नयाँ वर्षमा चलचित्र प्रदर्शन गर्ने बताए ।
हाल गृहजिल्ला पोखरामा रहेका उनले फोनवार्तामा भने- ‘सरकारले तीन चरणमा लकडाउन खोल्ने भन्ने सुनेको छु । लकडाउन खुले पनि ६ महिनासम्म हलमा चलचित्र प्रदर्शन गर्ने वातावरण बन्छ जस्तो मलाई लाग्दैन । तत्कालै स्थिति सामान्य भए दशैंमा चलचित्र रिलिज गर्छौं । तर, यो हुने सम्भावना न्यून छ । दशैंमा भएन भने आउँदो नयाँ वर्ष (बैशाख) मा चलचित्र प्रदर्शन गर्छौं ।’

ठूलो लगानीमा ‘प्रेमगीत ३’ निर्माण भएका कारण हल खुल्न साथ चलचित्र प्रदर्शन गर्ने जोखिम उठाउन नसक्ने उनी बताउँछन् । १० महिनापछि स्थिति सामान्य हुने उनको विश्वास छ । यो चलचित्र गत वर्षको चैत २८ गते प्रदर्शन हुँदै थियो । तर, सरकारले लकडाउन घोषणा गरेपछि निर्माण टिमले चलचित्रको प्रदर्शन स्थगन गर्यो । चलचित्रको दुई गीत र टिजर सार्वजनिक भैसकेको छ ।
छेतेन गुरुङ र सन्तोष सेन निर्देशित चलचित्रमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । चलचित्रलाई राजेश श्रेष्ठले खिचेका हुन् ।




