आन्दोलनलाई गम्भीरतापूर्वक लिन सरकारलाई प्रियंकाको आग्रह



कोरोना भाइरस नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने र नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्बको विवरण पारदर्शी बनाउनुपर्ने मागसहित केही दिनयता हजारौंको संख्यामा युवाहरु सडकमा उत्रिरहेका छन् । कोरोनाको महामारीको समयमा भीडभाड हुने गरि प्रदर्शन हुन थालेपछि यो भाइरसको संक्रमणले भयावह रुप लिनसक्ने सम्भावना बढेको छ ।

युवाहरुको सरकार विरोधी आन्दोलनलाई मौन समर्थन जनाएकी अभिनेत्री प्रियंका कार्कीले सामाजिक दूरी कायम गरेर सुरक्षित रुपमा बस्न आग्रह गरेकी छन् । आन्दोलनले राजनीतिक मोड लिएको पनि उनको निष्कर्ष छ । शनिवार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले युवाहरुको सरकार विरोधी प्रदर्शनमा सामाजिक दूरी कायम नभएको र यो अवस्था रहे एकैपटक धेरै जनामा यसको संक्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरेकी छन् ।

युवाहरुले उठाएका माग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले विरामी, बच्चा वा जेष्ठ नागरिक प्रदर्शनमा नआइ अर्कै माध्यमबाट आवाज उठाउन आग्रह गरेकी छन् । संसदबाट नयाँ नक्सालाई संविधान र निसान छापको अंग बनाउने प्रस्ताव पारित गर्ने भएकोले आजको प्रदर्शन स्थगन गर्न आग्रह गर्दै उनले लेखेकी छन्, ‘कुनै राजनीतिक एजेन्डा वा संलग्नता नराखी हामीले यो विरोध प्रदर्शन भोलीबाट फेरि शुरु गर्न सक्छौं । प्रदर्शनमा जाँदा समाजिक दूरी कायम गरौं, शान्तिपूर्ण रहौं, सुरक्षित रहौं । विरोध प्रदर्शनको नाममा राजनीतिकरण नगरौं ।’

उनले युवाहरुको प्रदर्शनलाई गम्भीरतापूर्वक लिन पनि सरकारसँग आग्रह गरेकी छन् । उनी थप्छिन्, ‘सरकार, यो प्रदर्शनलाइ गम्भीरतापूर्वक लिनुहोस् । कृपया मुद्दाको संवेदनशीलता बुझिदिनुस् । जनताको कुरा सुनेर, जनता विश्वस्त हुने गरि सम्बोधन गरिदिनुस् । आफ्नो देश र जनताको सुरक्षा गर्ने कर्तव्यको पालना गरिदिनुस् ।’ उनको यो भनाईमा धेरैले समर्थन जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu