प्राविधिकका लागि भए पनि छायांकन अनुमति दिनुपर्छ : दिनेश राउत



तीन महिनादेखि जारी लकडाउनका कारण चलचित्र क्षेत्रमा कुनै प्रकारका गतिविधि नहुँदा हजारौंको संख्यामा बेरोजगारी बढेको छ । चलचित्रमा काम गरेर जीविकोपार्जन गर्ने प्राविधिकहरुलाई विहान बेलुका हात मुख जोर्नै समस्या भएको छ भने सिनेमा हल बन्द हुँदा बैंकको ऋण र कर्मचारीको तलब कसरी तिर्ने भन्ने चिन्ताले हल सञ्चालकलाई पिरोलेको छ । निर्माता र कलाकारको पीडा पनि कम छैन ।

चलचित्र क्षेत्रलाई चाँडोभन्दा चाँडो चलायमान बनाउन अब चलचित्रसँग सम्बन्धित कार्यहरु पुनःसञ्चालनको अनुमति दिनुपर्ने माग उठ्न थालेको छ । चलचित्र क्षेत्रमा आश्रित हजारौं श्रमिकहरु रोगले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेको भन्दै भारतमाझैँ शर्तपूर्वक चलचित्र वा अन्य भिडियो सामाग्रीको छायांकनका लागि सरकारले अनुमति दिनुपर्ने चलचित्रकर्मीहरुको भनाई छ ।

निर्देशक तथा निर्माता दिनेश राउतले तत्काल चलचित्र प्रदर्शन गर्ने वातावरण बन्न नसके पनि चलचित्रको छायांकनका लागि सरकारले अनुमति दिनुपर्ने बताएका छन् । उनले फोनवार्तामा भने- ‘भारतमा विभिन्न शर्त राखेर चलचित्रको छायांकनका लागि अनुमति दिइएको छ । नेपालमा पनि यो मोडालिटीमा सरकारले चलचित्रको छायांकनका लागि अनुमति दिँदा राम्रो हुन्छ ।’

कोरोनाका कारण जारी लकडाउनले तीन महिनादेखि चलचित्र क्षेत्रमा कुनै कार्य नहुँदा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरुलाई समस्या परेको बताउँदै उनले थपे- ‘यो अवस्थामा चलचित्रको छायांकन खुल्ला गर्न सके चलचित्र क्षेत्र धेरै हदसम्म चलायमान हुनसक्छ । त्योभन्दा ठूलो कुरा रोजीरोटी गुमेर जीविकोपार्जन गर्न समस्या भएका प्राविधिकहरुलाई ठूलो राहत मिल्नेछ ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu