नेत्र इन्टरटेनमेन्टको पछिल्लो छोटो चलचित्र ‘सत्कर्म’ रिलिज भएको छ । कम्पनीको आफ्नै युट्युब च्यानलमार्फत् चलचित्र रिलिज भएको हो । चलचित्र निर्माणमा जक्शन डटकमले पनि सहकार्य गरेको छ । समाजमा अझै पनि केही राम्रा सोँच र व्यवहार भएका मानिसहरु छन् भन्ने सन्देश चलचित्रमार्फत् दिन खोजिएको छ ।
‘लकडाउनको बेलामा समस्यामा परेका समूहलाई आफ्नै बलबुताले सहयोग गर्ने सहयोगी मनको कथा हो यो’, चलचित्रका निर्देशक नेत्र गुरुङले भने–‘धेरै मानिसहरुका लागि उदाहरण बनोस् भन्ने हेतुले हामीले यो चलचित्र बनाएका हौँ ।’ लकडाउनपछि निरन्तर छोटो चलचित्रहरुमार्फत् समाजका विभिन्न पाटाहरु देखाउँदै आएको नेत्र इन्टरटेनमेन्टको यो छैठौँ चलचित्र हो ।

‘यसभन्दा अगाडि हामीले समाजमा पीडामा रहेका मानिसहरुको कथालाई पस्केका थियौँ’, निर्देशक गुरुङले थपे–‘तर समाजमा पीडामा मल्हम लगाउने मानिसहरु पनि छन् भन्नका लागि यो निर्माण गरेका हौँ ।’ ‘सत्कर्म’ को मूख्य भुमिकामा रेम बिक देखिएका छन् । चलचित्रमा उनीसँगै विजयराज अधिकारी, राजेन्द्र अधिकारी ‘अपुर्ण’, साधना शर्मा, सबिता कर्माचार्य, भरत छन्त्याल,सबिन गायक लगाएतले अभिनय गरेका छन् ।
चलचित्रलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । चलचित्रको कथा भने निर्देशक गुरुङको आफ्नै हो । चलचित्रको सम्पादन पनि उनी आफैले गरेका हुन् । चलचित्रको निर्देशनमा भने रोहन नेपाली र भरत छन्त्यालले उनलाई ‘एसिस्ट’ गरेका छन् । चलचित्रमा स्वर र संगीत जीवन सुनारको रहेको छ । त्यस्तै पब्लिसिटी डिजाइनमा सबिन गायक र ड्रोनमा विकास ताम्राकार रहेका छन् ।
भिडियो :-




