कलाकारको रिल र रियल लाइफ फरक हुन्छ : आमेष भण्डारी



आइतवार आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतप्रति नेपाली चलचित्रकर्मीहरुले संवेदन व्यक्त गर्दै आत्महत्या समस्याको समाधान नभएको प्रतिक्रिया जनाइरहेका छन् । अभिनेता आमेष भण्डारीले भने पैसाको अभावमा कसैले आत्महत्या नगर्न र राम्रो चलचित्र नपाएर कोही डिप्रेसनमा नजान भनेका छन् । एकअर्कालाई साथ र सहयोग गर्न उनको अपिल छ ।

कलाकारको रिल र रियल लाइफ फरक हुने बताउँदै उनले फेसबुकमा लेखेका छन्, ‘चलचित्र हेर्न मज्जा आउँछ तर भित्र आफ्नै कहानी दर्दनाक हुन्छ । कलाकारले हाँसेर चलचित्रमा कुरा उडाउलान् तर वास्तविक जीवनमा ऊ पनि एउटा मान्छे हो । उसको पनि मन छ । खुसीसँगै उसको मनमा धेरै पीडा दबेको हुन्छ । तर, विडम्बना ! कलाकारले आफ्नो पीडा व्यक्त गर्न नै सक्दैन ।’

उनले अगाडि लेखेका छन्, ‘दर्शकको नजरमा हिरो जहिल्यै पावरफूल हुन्छ र सबैले सोच्दछन् कि ऊ वास्तविक जीवनमा पनि त्यस्तै हुन्छ । सुशान्तले आत्महत्या गर्नुहुन्न भन्ने सन्देश बोकेको चलचित्र त गरे तर अन्त्यमा उनी आफैंले त्यही बाटो रोजे । त्यसैले कलाकारको रिल र रियल लाइफ एकदमै फरक हुन्छ ।’ उनले इन्डस्ट्रीमा फेमिली खोजेर नपाउने पनि बताएका छन् ।

आफूलाई परिवारले कहिल्यै कुनै कुरामा अभाव महशुस हुन नदिएको र आफूले भोलीका दिनमा राम्रो चलचित्र नपाए पनि त्यसले आफूलाई डिप्रेसनमा नल्याउने अभिनेता भण्डारीको विश्वास छ । ‘मलाई पैसाको अभाव पनि हुने छैन, किनभने खान, लाउन, हिँड्न र राम्रो जीवन जिउन चलचित्र क्षेत्र बाहेक आफ्नै पारिवारिक व्यापार गर्छु र, धेरै मिहेनत गर्छु,’ उनले लेखेका छन् ।

चलचित्र क्षेत्रमा जीवन समर्पित गर्नेलाई कहिल्यै कामको खाँचो हुन नदिन पनि उनले चलचित्रकर्मीहरुलाई आग्रह गरेका छन् । ‘पैसा नभएर कसैले आत्महत्या नगरोस् । राम्रो चलचित्र नपाएर कोही डिप्रेसनमा नजाओस्,’ उनी अगाडि लेख्छन्, ‘इन्डस्ट्री सानो छ । अरुको दाँजोमा कलाकार पनि थोरै छन् । सबैलाई काम दिन सकिन्छ र पुग्छ । यदी हामी परिवार हौं भने एकअर्कालाई हेरौं ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu