नेपालमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कथामा प्रेमकथा मिसाएर निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माले चलचित्र निर्माण गर्ने भएका छन् । नेपाल सरकारले जारी गरेको बन्दाबन्दी खुलेपछि बेनामे चलचित्रको छायांकन सुरु हुने बताइएको छ । यो चलचित्रका लागि निर्देशक थापा र अभिनेत्री शर्माले नयाँ अनुहार (अभिनेता) खोजेका छन् ।

अडिसनको माध्यमबाट चलचित्रका लागि अभिनेता छानिने निर्देशक थापाले जानकारी दिए । चलचित्रमा अभिनेत्रीको रुपमा पूजा शर्मा हुने बुझिएको छ । किनकि, सुदर्शनले निर्देशन गर्ने कुनै चलचित्रमा पूजा छुट्दिनन् । यद्यपि, यो चलचित्रमा उनको अभिनय रहने विषयमा निर्माण टिमबाट कुनै जानकारी प्राप्त भएको छैन । बन्दाबन्दी खुलेपछि अभिनेताका लागि अडिसन आह्वान गरिनेछ ।
चलचित्र ‘मधुमास’ बाट सुरु भएको सुदर्शन र पूजाको सहकार्य अहिलेसम्म टुटेको छैन । चलचित्र ‘प्रेमगीत’ को सफलतापछि यी दुईको सहकार्यको गाँठो झन् कसिलो बन्यो । पछिल्लो केही वर्षयता उनीहरुले चलचित्र निर्माण पनि मिलेर गरिरहेका छन् । यी दुईलाई एकअर्काको साथ फलदायक बनेको देखिन्छ । यसकारण पनि उनीहरु प्रेममा रहेको चर्चा चल्ने गर्दछ ।




