बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनप्रश्चात् नेपाली चलचित्र क्षेत्रमा नातावाद हाबी हुँदा अभिनयमा उम्दा कलाकारहरु डिप्रेसनको शिकार भएको भन्दै बहस सुरु छ । सोमवार साँझ फेसबुकमा एक भिडियो पोस्ट्याउँदै अभिनेत्री नम्रता सापकोटाले नातावादको कुरा गर्न बलिउडसम्म पुग्नै नपर्ने बताउँदै नेपाली चलचित्रमै यसले जरा गाँडेको उल्लेख गरेकी छन् । चलचित्र क्षेत्रमा धेरैले आफ्नालाई मात्र सपोर्ट गर्ने गरेको उनको भनाई छ ।
उनले भनेकी छन्, ‘कला र कलाकारितालाई भन्दा पनि आफ्नोलाई सपोर्ट हुन्छ यहाँ । यहाँ चलचित्रको घोषणा हुन्छ, कलाकार चाहियो भनेर घोषणा गरिन्छ । जब अन्तिममा कलाकार देखिन्छ, आफ्नै छोरा-छोरी वा भतिजा–भतिजी हुन्छ । यहाँ एउटा चलचित्र गर्न यति पारिश्रमिक लियो भन्ने खबर आउँछ । जुन सुन्दा हामी आफैंलाई अचम्म लाग्छ । तर, त्यो चलचित्र आफ्नै माता-पिताले बनाएको हुन्छ ।’

आफूले बनाउने चलचित्रमा आफ्ना छोरा वा छोरीले यति पारिश्रमिक लियो भनेर बजारमा सोकल्ड हल्ला फैलाउने गरिएको भन्दै अभिनेत्री सापकोटाले मेहेनत गरेर अगाडि बढ्न चाहनेलाई नातावादले थिच्ने गरेको पनि बताइन् । अभिनय कमजोर हुने, चलचित्र क्षेत्रका व्यक्तिसँग राम्रो सम्बन्ध हुने र व्यापार राम्रो दिन सक्नेको मात्र चलचित्र क्षेत्रमा काम रहेको उनको बुझाइ छ ।
उनले मेहेनत गरेर आउने र अभिनय राम्रो हुनेलाई चलचित्र क्षेत्रमा कसैले नगन्ने तितो यथार्थ पनि सुनाइन् । आफू कलाकार भएका कारण कतिपय कुराहरु गलत सुनिने भए पनि आफूले वास्तविक कुरा मात्र गरेको बताउँदै उनले थपिन्, ‘फिल्म क्षेत्रमा ५०-६० प्रतिशत व्यक्तिले आफ्नालाई मात्र महत्त्व दिन्छन् । अनि, कलाकार डिप्रेसनमा नगएर केमा जान्छन् त ?’




