बलिउड अभिनेता सुशान्त सिंह राजपूतले बलिउडमा बढ्दो नातावादका कारण डिप्रेसनमा गएर आत्महत्याको बाटो रोजेको हुनसक्ने आशंका उब्जिरहेको बेला नेपाली चलचित्र क्षेत्रमा यस विषयमा बहस सुरु भएको छ । अभिनेत्री नम्रता सापकोटाले सोमबार फेसबुकमा नेपाली चलचित्र क्षेत्रमा मौलाएको नातावादका कारण धेरै कलाकार डिप्रेसनको शिकार भएको बताएपछि अन्य सेलिब्रेटीहरुले पनि यस विषयमा आफ्नो विचार राखिरहेका छन् ।
अभिनेत्री वर्षा सिवाकोटीले मंगलवार फेसबुकमा लामो स्टाटस लेख्दै चलचित्र क्षेत्र नातावादले मात्र नअल्झिएको उल्लेख गर्दै ग्रुपिज्म, प्रेमका कुरा, तुलना, चलचित्र पत्रकार र कलाकारबीच अनावश्यक निकटताको विगविगीले पनि नकरात्मक असर पारेको बताएकी छन् । आफू स्वयंले यी कुरा भोगेको उनको भनाई छ । नामका कारण पाइलैपिच्छे तुलना हुने पनि उनी बताउँछिन् ।

उनले लेखेकी छन्, ‘मैले जति नै राम्रो र फरक काम गरे पनि प्रश्न उठाइन्छ । यी कुराले कति ठाउँमा मलाई मानसिक पीडा भएको मेरो नजिकका केही बाहेक कसैलाई थाहा छैन । केही समयअघि म पनि उदास थिएँ । यहाँ इन्स्टा र फेसबुकको फलोअर्सको आधारमा समेत केहीले मेरो कामको मुल्यांकन गर्ने गरेका छन् ।’ उनले फलोअर्स धेरै हुनेलाई चलचित्रको अप्रोच बढी हुने गरेको पनि बताइन् ।
यूट्युबमा धेरै अन्तर्वार्ता आउने कलाकारलाई हिटको दर्जा दिने प्रवृतिप्रति असन्तुष्टि व्यक्त गर्दै वर्षाले थपेकी छन्, ‘स्टार किड्स भन्दै गर्दा उहाँहरुको कामको मुल्यांकन हजुरहरुले नै गर्नुभएको छ । को अब्बल र को कमजोर ठम्याउने जिम्मा हजुरहरुकै हो । नेपोटिजमले कहिलेसम्म धान्ला र ? ‘एट द इन्ड’ हामी सबैलाई राम्रो काम गर्ने कलाकारको महत्त्व थाहा भइहाल्छ ।’
उनले केही समयअघि चलचित्र क्षेत्रमा मौलाएको नातावादको बारेमा खुलेर विरोध जनाएकी थिइन् । यसले उनको करिअरमा असर पर्ने कतिपयको विश्लेषण थियो । यो कुराको उल्लेख गर्दै वर्षाले लेखेकी छन्, ‘लकडाउन नभएको भए मैले साइन गरेको केही चलचित्र छाड्नुपर्ने अवस्था थियो ।’ प्रतिभा, लगनशील र आत्मविश्वासी भए एकदिन मिहिनेतको कदर हुने उनको कथन छ ।




