‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ बारे प्रदीप उदयको फरक धारणा



बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ को विषयमा बहस सुरु भएको छ । यस विषयमा नेपाली चलचित्रकर्मीहरुले आफ्नो भनाई सार्वजनिक गरिरहेका छन् । तर, हरेकको यस विषयमा फरक-फरक मत छ । चलचित्र निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदय नेपाली चलचित्र क्षेत्रमा यी दुवै कुरा नरहेको दाबी गर्छन् ।

सामाजिक सञ्जालमा फेसबुकमा एक स्टाटस लेख्दै उनले हरेक आमा-बुबाले आफ्ना छोरा-छोरीलाई स्थापित गर्न प्रयास गर्ने र यो हरेक क्षेत्रमा हुने बताएका छन् । उनी यसलाई ‘नेपोटिज्म’ नभएर अभिभावकको दायित्व मान्छन् । कोरोनाको महामारीबाट तहसनहस अहिलेको स्थितिमा ‘नेपोटिज्म’ र ‘ग्रुपिज्म’ को कुराहरू अनावश्यक रूपमा उठाउन उचित नभएको उनको तर्क छ ।

नेपाली चलचित्र क्षेत्रमा ‘ग्रुपिज्म’ मौलाएको भन्ने विषयमा पनि उनले भनाई राखेका छन् । उनले लेखेका छन्, ‘चलचित्र समुहबाट नै निर्माण हुने हो र चलचित्र निर्माण गर्दा निर्माणमा सहज भयो र दर्शकले मन परायो भने निर्माता-निर्देशकले पुनः आफ्नो चलचित्रमा लिने हो र लिनु पनि पर्दछ । त्यस्तो अवस्थामा समुहगत भयो भन्नु उपयुक्त हुँदैन । त्यो ‘नेपोटिज्म’ हुँदैन र भनिँदैन पनि ।’

निर्माता उदय अगाडि थप्छन्, ‘चलचित्रमा दर्शकले रूचाएनन् भने केही हुँदेन जति सुकै कसैले कसैलाई स्थापित गर्न खोजे पनि । त्यसैले कोरोनाको महामारीवाट तहसनहस अहिलेको स्थितिमा यस्तो कुराहरू अनावश्यक रूपमा उठाउनु भनेको ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हो ।’ उनको यो भनाईमा अभिनेत्री रेखा थापाले समेत समर्थन जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu