सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित चलचित्र क्षेत्रका समस्या सम्बोधन नगरेको भन्दै चलचित्रकर्मीहरु रुष्ट छन् । हल सञ्चालक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले बजेट प्रस्तुत हुनुभन्दा अगाडि सरकारलाई चलचित्र क्षेत्रका लिखित मागहरु बुझाएको थियो । तर, बजेटमा संघले बुझाएका कुनै माग सम्बोधन भएनन् ।

सरकारले फिल्म क्षेत्रका कुनै माग सम्बोधन गरेको भन्दै चलचित्र संघले आन्दोलन गर्ने तयारी थालेको छ । मंगलवार बसेको संघको पदाधिकारीको बैठकपछि सरकारसमक्ष पुनः चलचित्र क्षेत्रका लिखित माग बुझाइएको छ । ती माग सम्बोधन गर्न संघले सरकारलाई एक हप्ताको अल्टीमेटल दिएको छ । चलचित्र क्षेत्रका माग सम्बोधन नभए संघर्षका कार्यक्रम घोषणा गर्ने संघको तयारी छ ।

चलचित्र संघका महासचिव अशोक शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण चलचित्र क्षेत्र (निर्माण, वितरण तथा प्रदर्शन) का लिखित मागहरु सम्बोधन गर्नका लागि संघले सरकारसमक्ष पुनः पेश गरेको छ । ती मागहरु आजका मितिबाट एक हप्ताभित्र पूरा नभए आगामी अषाढ ९ गते बस्ने कार्य समिति, पूर्वाञ्चल तथा पश्चिमाञ्चल लगायतका सम्पूर्ण सदस्यहरुको बैठकबाट राय सुझाव दिई आगामी दिनका संघर्षका कार्यक्रमहरु चरणबद्ध रुपमा घोषणा गर्नेछौं ।’




