स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले चलचित्र ‘आँधी तुफान–२’ निर्माण गर्ने भएका छन् । मौनताले ०६१ सालमा महेन्द्र बुढाथोकीको निर्देशनमा ‘आँधी तुफान’ निर्माण गरेका थिए । यो चलचित्रले व्यावसायिक सफलता हासिल गरेको थियो । ‘आँधी तुफान–२’ नारी कथानक हुने बताइएको छ ।

लकडाउन अवधिभर आफूले ‘आँधी तुफान–२’ को स्क्रिप्ट लेखिसकेको र अब भदौबाट सुटिङ सुरु गर्ने जानकारी निर्माता मौनताले दिएका छन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको निर्देशक तथा कलाकार छनौटकै क्रममा रहेको बताइन्छ । लेडी एक्शन चलचित्र ‘आँधी तुफान’ मा पूजना प्रधान, ऋचा घिमीरे र रञ्जु लामीछाने मुख्य भूमिकामा थिए ।
‘नेपाली समाजमा भइरहेको नारीमाथिकोे दमन, शोषण तथा अत्याचार अनि नारी जागरणको बिषयलाई प्रमुखताका साथ उठान गर्दैछु,’ लेखक समेत रहेका निर्माता मौनता भन्छन्,‘केही नयाँका साथमा केही अनुभवी कलाकारलाई प्रस्तुत गर्ने छौ ।’ कार्यकारी निर्माता रत्नले चलचित्रको कथावस्तु मन परेकाले आफू उत्साहित रहेको बताए ।




