चलचित्र विकास बोर्डले यही असार १६ गते स्थापनाको २०औं वर्ष पूरा गर्दैछ । वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको विकास बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा राष्ट्रपति निवासमा राष्ट्रपतिको हातबाट नेपाली चलचित्रकर्मीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने गरेको छ । गत वर्ष तीन वर्षको राष्ट्रिय पुरस्कार एकैपटक बाँडिएको थियो ।

तर, यस वर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोह नहुने भएको छ । नेपालमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकारले केही महिना कुनै प्रकारका कार्यक्रम नगर्न सरकारी निकायहरुलाई पत्रचार गरेका कारण २०७६ सालको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस वर्षका लागि स्थगित भएको चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।
अर्को वर्ष दुई वर्ष (२०७६-०७७) को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ बाँडिने उनले बताए । यस वर्ष बोर्डको वार्षिकोत्सवको अवसरमा कुनै औपचारिक कार्यक्रम पनि नहुने उनको भनाई छ । कोरोनाका कारण थलिएको चलपचत्र क्षेत्रलाई पुनः चलायमान बनाउन अहिले बोर्डले विभिन्न योजनाहरु बनाइरहेको छ । चाँडै बोर्डले आन्तरिक कोषबाट राहत प्याकेज पनि घोषणा गर्दैछ ।




