अभिनेत्री ऋचा शर्मा र हास्यकलाकार दीपकराज गिरीको समुहबीच तीन वर्षअघि के भएको थियो, त्यसको बारेमा सबै जानकारी छन् । अभिनेत्री ऋचाले राजधानीमा आयोजित एक फेस्टिभलमा बोल्ने क्रममा चलचित्र ‘छक्का पञ्जा’ मा महिलामाथि दुर्व्यवहार गरिएको दृश्यमा ताली बजाउने दर्शकलाई ‘मूर्ख’ भनेकी थिइन् । उनको यो अभिव्यक्ति दीपकराज गिरीको समुहलाई पच्ने कुरै भएन ।
दीपकराजले उनलाई ‘गेट वेल सुन’ भन्दै फेसबुकमा स्टाटस लेखे- ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलाई मूर्ख भन्नुभएछ । प्रिय नायिकाज्यू दर्शकलाई मूर्ख भन्नु भएकाले नै तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन् ।’ ऋचालाई असफल अभिनेत्रीको ट्याग दिँदै कलाकार गिरीले लेखेको स्टाटस उनको समुहका प्रियंका कार्की, दीपाश्री निरौला, स्वस्तिमा खड्कालगायत फेसबुकमा शेयर गरे ।

यो घटनापछि दीपक-दीपाको समुहसँग ऋचाको लामो समय पानी बाराबार भयो । तर, धेरै समय उनीहरुले मनमा इख पालेर बसेनन् । उक्त घटनाको वर्ष दिनपछि उनीहरुबीच बोलचाल सुरु भयो । अब, तीन वर्षपछि ऋचा शर्मा र दीपक-दीपाको सुमहबीच फरक दृश्य देख्न पाइएको छ । ऋचाले ‘छक्का पञ्जा’ कै तेस्रो सिरिजको एप राइट्स खरिद गरेकी छन् ।
चाँडै लञ्च हुन लागेको ‘चलचित्र टीभी’ नामक एपका लागि उनले दीपकराज गिरीको समुहसँग उक्त चलचित्र किनेकी हुन् । अभिनेत्री ऋचाले दीपक-दीपा समुहले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ को पनि एप राइट्स खरिद गरेको जानकारी प्राप्त छ । ऋचाले अमेरिकामा रहेका केही लगानीकर्तासँगको सहकार्यमा ‘चलचित्र टीभी’ एप सार्वजनिक गर्न लागेकी हुन् । जुनको २४ तारिखबाट यो एप सार्वजनिक हुँदैछ ।




