देश कोरोना भाइरसको महामारीबाट नराम्रोसँग थलिएको छ । देशको आर्थिक अवस्था चौपट भएको छ भने दिन दुई गुना, रात चौगुनाको रुपमा संक्रमण फैलिरहेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने केही दिनअघि राष्ट्रिय सभामा कोरोनालाई बेसार र तातोपानी खाएर भगाउनुपर्छ भन्ने अभिव्यक्ति दिए । उनले नेपालीको इम्युनिटी पावर बढी भएका कारण कोरोना नलाग्ने पनि बताएका थिए ।

प्रधानमन्त्रीले राष्ट्रिय सभामा राखेको धारणाप्रति असन्तुष्टि व्यक्त गर्दै ‘लुट’ निर्देशक निश्चल बस्नेतले उनलाई अ (प्रिय) प्रधानमन्त्रीको रुपमा सम्बोधन गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै सरकार कोरोनासँग कहिले डराउँछ रु भनेर प्रश्न पनि गरेका छन् । प्रधानमन्त्रीप्रति जनताको विश्वास हरेक दिन गुम्दै गएको उनले पत्रमा उल्लेख गरेका छन् ।
‘कोभिड नलाग्दा कसरी सुरक्षित हुने ? जति छन् त्योभन्दा बढीलाई लाग्न नदिन के गर्दै हुनुहुन्छ ? न्यूजिल्यान्डले के गर्यो र सामान्य स्थितिमा फर्किन सफल भयो भन्ने बुझेर त्यसको चर्चा र विश्लेषण गरेको सुन्न पाए पनि कोशिश हुँदैछ भनेर बुझिन्थ्यो । बेसारले इम्युनिटी बढाउँछ, अदुवाले राम्रो गर्छ भन्ने कुरा मात्र गरिराख्ने हो र यस्तो समयमा ?’, उनले प्रधानन्त्रीलाई प्रश्न गरेका छन् ।
‘तपाईं र तपाईंको सरकारको परिक्षा हुँदैछ हरेक दिन हरेक पल र, तपाईंको कार्यशैली र बोलीले हटाउँदैछ तपाईंप्रतिको विश्वास’, निश्चलले पत्रमा लेखेका छन्, ‘तपाईंले बोलेको कुरा समाचार बनेर घर घरमा पुग्छ । के तपाईं चाहनुहुन्न घर घरमा तपाईंको सरकारप्रतिको विश्वास पुगोस् भनेर ? तपाईंहरु कहिलेदेखि हो कोरोनासँग डराउने ? कोरोना संसद भवनभित्र छिरेपछि ?’

उनले प्रधानमन्त्री ओलीलाई आफूले अ (प्रिय) को रुपमा सम्बोधन गर्न नचाहे पनि नसकेको बताएका छन् । उनले भूकम्पपछिको राहत र पुनर्निर्माणको गतिमा कोरोना नियन्त्रण भए अर्को चुनावमा भोट हाल्न धेरै जनता बाँकी नरहने चिन्ता पनि व्यक्त गरेका छन् । उनले प्रधानमन्त्रीलाई लेखेको पत्रको विट मार्दै आफूलाई पनि अ (प्रिय) जनतामध्येको एक भएको उल्लेख गरेका छन् ।




