चलचित्र पत्रकार संघ, कास्की शाखाले सामाजिक र भौतिक दूरी कायम गरेर शनिवार पोखरामा आयोजना गरेको ‘लकडाउन पछिको नेपाली चलचित्र : चुनौति, यथार्थ र सम्भावना’ विषयक बहस कार्यक्रममा कलाकार तथा निर्देशक अनुप बराल, कलाकार माओत्से गुरुङ र हल सञ्चालक निकेश द्वाले अब चलचित्र निर्माणको अनुमति दिएर हल सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।
सञ्चारकर्मी अपिल त्रिपाठीले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा कलाकार अनुप बरालले कोरोनाका कारण तीन महिनादेखि ठप्प रहेको चलचित्र क्षेत्र पुनः सञ्चालनमा ल्याउन ढिला गर्न नहुने बताए । कोरोनासँग लडेरै भए पनि चलचित्र निर्माण र हल सञ्चालन गर्नुपर्ने समय आएको उनको भनाई छ । चलचित्र प्रदर्शनका लागि मापदण्ड बनाएर हल खोल्न उनको सुझाव छ ।

उनले भने- ‘चलचित्र क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन कोरोनाका कारण उत्पन्न डर हटाउन आवश्यक छ । जबसम्म डर रहन्छ तबसम्म चलचित्र हेर्न हलमा दर्शक आउने वातावरण बन्दैन । यसका लागि सिनेमा हल खोल्नु पर्छ । चलचित्र निर्माणको गति बढाउनु पर्छ । अब पनि हल सञ्चालनमा नल्याउने हो भने त्यसले नेपाली चलचित्रको अर्थतन्त्र र कलाकारलाई दुरगामी असर पर्न सक्छ ।’
हल सञ्चालनमा नआउँदासम्म चलचित्र रिलिजका लागि डिजिटल प्लेटफर्म विकल्प हुनसक्ने उनको तर्क छ । कोरोनाका कारण सिनेमा हल बन्द भएपछि हलिउड/बलिउडमा चलचित्र रिलिजका लागि निर्माताहरुले ओटीटी प्लेटफर्म रोज्न थालेको उल्लेख गर्दै उनले भने- ‘यो तत्कालको विकल्प मात्र हो । दर्शकलाई हलमा चलचित्र हेर्दा जस्तो आनन्द डिजिटल प्लेटफर्ममा आउँदैन ।’
कलाकार माओत्से गुरुङले पनि कोरोनाका कारण प्राविधिक तथा कलाकार रोगले भन्दा भोकले मर्ने अवस्था सृजना भएकाले चलचित्रनिर्माण र हल सञ्चालनमा ल्याउनु पर्ने मत राखे । मिडटाउन सिनेमा हल पोखराका सञ्चालक निकेश द्वा सावधानी अपनाएर हल सञ्चालनका लागि सरकारले अनुमति दिनुपर्ने बताउँछन् । तर, अहिले नै हलको विकल्प खोज्न नहुने उनको भनाई छ ।




