अभिनेत्री तथा निर्मात्री सुस्मिता बम्जनले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ बाट निर्देशकको रुपमा डेब्यू गरेका श्रीराम महत लामो समयपछि दोस्रो चलचित्रको तयारीमा जुटेका छन् । बन्दाबन्दीपछि फ्लोरमा जाने गरी अहिले चलचित्रको प्रि-प्रोडक्सनको काम भैरहेको छ । आइतवार चलचित्रको एक गीतको रेकर्ड गरिएको छ । जसमा गायिका टिका प्रसाईंले आवाज दिएकी छन् ।

उक्त गीतलाई चलचित्रका निर्माता तथा बरिष्ठ गीतकार हिराकाजी थापाले लेखेका हुन् । गीतमा शाहस शाक्यको एरेन्ज र नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् । थोरै मात्र आइटम गीतमा आवाज भरेकी गायिका टिकाले चलचित्रको ‘सुनको बाला हातमा’ गीतले चर्चा बटुल्ने विश्वास व्यक्त गरेकी छन् । आफूले अहिलेसम्म गाएका गीतमध्ये यो गीत भिन्न र मौलिक लागेको उनी बताउँछिन् ।
चलचित्रमा चार गीत रहने निर्देशक महतको भनाई छ । लभस्टोरी जनरामा निर्माण हुने चलचित्रको केही दिनमा नाम सार्वजनिक गरिने उनले बताए । चलचित्रमा दुई नायिका रहनेछन् । आफ्नै कथालाई पर्दामा उतार्न लागेका निर्देशक महतले भने- ‘अहिलेसम्म कोही कलाकार फाइनल भएका छैनन् । बन्दाबन्दी खुलेपछि एक कार्यक्रमका बीच चलचित्रका कलाकार सार्वजनिक गर्नेछौं ।’




