कोरोना भाइरसका कारण तीन महिनासम्म देश लकडाउनमा थियो । गएको हप्ताबाट लकडाउन केही खुकुलो बनेको छ । सरकारले विभिन्न २१ वटा क्षेत्र पुनः सञ्चालनका लागि अनुमति दिए पनि चलचित्र क्षेत्र भने अझै बन्द छ । भीडभाड हुने क्षेत्र भएकाले चलचित्र क्षेत्र तत्काल खोल्ने तयारीमा सरकार छैन । लकडाउन पूर्ण रुपमा खुलेपछि मात्र यो क्षेत्र सञ्चालनमा आउने देखिन्छ ।
गएको तीन महिनादेखि लकडाउनका कारण चलचित्र क्षेत्रका हरेक गतिविधि ठप्प हुँदा वर्षभरी चलचित्र वा म्यूजिक भिडियोको छायांकनमा व्यस्त हुने कलाकारहरु घरको चारकुनामा थुनिएका छन् । अभिनेता अनमोल केसी पनि गएको तीन महिनादेखि घरभित्रै सीमित छन् । यद्यपि, उनी हप्तामा एक-दुईपटक बुढानिलकण्ठमा रहेको राधाकृष्ण मन्दिरमा पूजाआजा गर्न पुग्ने गर्दछन् ।

लकडाउनअघि उनी चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त थिए । यसपछि चलचित्र ‘पारस’ का लागि समय दिने उनको सोच थियो । तर, कोरोनाले सबै योजना भताभुङ्ग बनायो । लकडाउनपछि चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन रोकियो । अब, लकडाउन खुलेपछि उनले यो चलचित्रको बाँकी छायांकन सक्नेछन् । यसमा उनको जोडी सुहाना थापासँग बाँधिएको छ ।
यसबीच, अनमोलले सोमवार फेसबुकमा बाइकमाथि चढेको आफ्नो एक तस्विर पोस्ट्याउँदै ‘तयारी नै सफल दौडको चाँबी’ रहेको उल्लेख गरेका छन् । उनको यो भनाईबाट बुझ्न सकिन्छ कि उनी सफल दौडका लागि तयारी गरिरहेका छन् । हुनत, उनी अहिलेका नेपाली चलचित्रका सबैभन्दा सफल अभिनेतामा गनिन्छन् । यद्यपि, उनको अभिनयको भने आलोचना हुने गरेको छ ।




