अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि बलिउडमा परिवारवादको बहस चर्किएको छ । यसबाट नेपाली चलचित्र क्षेत्र पनि अछुतो बन्न सकेन । अभिनेत्री नम्रता सापकोटाले गएको हप्ता फेसबुकमा एक भिडियो पोस्ट्याउँदै नेपाली फिल्म चलचित्रमा पनि नातावाद व्याप्त रहेको र यसले प्रतिभावान कलाकारहरुलाई अगाडि बढ्न रोकिरहेको बताएकी थिइन् । तर, उनको यो भनाईमा थोरैले मात्र समर्थन जनाएका छन् ।

नातावाद (नेपोटिज्म) को विषयमा नेपाली चलचित्रकर्मीहरुले फरक-फरक धारणा राखेका छन् । चलचित्र क्षेत्रमा नातावाद नभएको तर समुहवादको समस्या रहेको कतिको तर्क छ । भने, कतिले यहाँ कुनै पनि ‘वाद’ नभएको ठोकुवा गरेका छन् । यो विषयमा अहिलेसम्म फिल्मी परिवारबाट आएका कलाकारहरुले भने आधिकारिक रुपमा आफ्नो भनाई सार्वजनिक गरेका छैनन् ।
अभिनेत्री प्रियंका कार्कीले भने ‘नेपोटिज्म’ चलचित्र क्षेत्रमा मात्र नभएको धारणा राखेकी छन् । इन्स्टाग्राममा एक प्रशंसकले सोधेको ‘नेपोटिज्म’ को प्रश्नमा उनले लेखेकी छन्, ‘नेपोटिज्म सबैतिर छ । एउटा डाक्टरले आफ्नो सन्तानलाई डाक्टर भएकै हेर्न चाहन्छ । व्यापारीले आफ्नो सन्तानलाई व्यापार नै सुम्पन्छ । यो कुरा चलचित्र क्षेत्रमा पनि लागू हुन्छ । तर, प्रतिभावान व्यक्तिलाई अवसर नमिल्नु चाहिँ गलत हो ।’




