टिकटकमा अभिनयको तलतल मेट्दै सुमिना



सामाजिक सञ्जाल टिकटक बालबालिकादेखि जेष्ठ नागरिकसम्म लोकप्रिय हुँदै गएको छ । पाँचदेखि १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनय गर्न सकिन्छ । टिकटकमा रमाउने नेपाली सेलिब्रेटीहरुको संख्या पनि ठूलो छ । अभिनेत्री करिश्मा मानन्धरदेखि साम्राज्ञी राज्यलक्ष्मी शाहसम्मले टिकटकमा अभिनय गरेको भिडियो साझेदार गर्ने गरेका छन् ।

यसले कलाकारलाई सस्तो बनाएको टिप्पणी पहिल्यैदेखि हुँदै आएको छ । तर, कसैलाई यसको प्रवाह छैन । कोरोना भाइरसका कारण जारी लकडाउनको समयमा भने टिकटकले उनीहरुलाई दिन काट्न थप सहज बनाएको छ । अभिनयको तलतल पनि मेटाएको छ । चलचित्र अभिनयबाट सन्यास लिएकी अभिनेत्री सुमिना घिमिरेले पनि अब टिकटकमा अभिनय गर्न थालेकी छन् ।

रोशन सापकोटासँग विवाह गरेपछि चलचित्र अभिनय पूर्ण रुपमा छाडेकी उनलाई वर्षौंपछि अभिनयको तलतल सुरु हुन थालेको छ । एक समय चलचित्रमा भ्याइनभ्याइ हुने गरेकी उनले अब टिकटकबाट अभिनयको प्यास भेटाउँदैछिन् । मंगलवार उनले ‘रातो चुरा रातै टिकी’ बोलको गीतमा लिप्सिङ गरेर अभिनय गरेकी छन् । उनले यो भिडियो श्रीमानका लागि समर्पित गरेकी छन् ।

‘दुलही’, ‘भीमदत्त’, ‘अप्रिल फूल’, ‘तिम्रो लागि’, ‘डार्लिङ’ लगायत एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री सुमिना घिमिरेले टिकटकमा छोरी रायनाको नामबाट एकाउन्ट खोलेकी छन् । छोरीको आमा भएपछि निकै मोटाएकी उनको अन्तिम चलचित्र ‘भीमदत्त’ हो । चलचित्र अभिनयबाट टाढा भए पनि अब टिकटकले उनको अभिनयको भोक मेटाउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu