लकडाउनका कारण तीन महिनादेखि घरभित्रै सीमित हुनु पर्दा अभिनेत्री स्वस्तिमा खड्कालाई सुटिङमा विताएका दिनहरु याद आइरहेको छ । लकडाउनअघि केही चलचित्र साइन गरेर बसेकी उनले बुधवार आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा एक तस्विर शेयर गरेकी छन्, जसमा उनी थकित मुद्रामा विछ्यौनामा पल्टिएकी छन् । उनले आफूलाई थकित दिन याद आएको उल्लेख गरेकी छन् ।

स्वस्तिमाको यो पोस्टमा एक इन्स्टा प्रयोगकर्ताले उनीमाथि व्यांग्य गर्दै लेखेका छन्, ‘खोइ कसलाई के चटक, कसलाई के चटक ! अब कसैलाई शरीर गलेको पनि मिस हुँदो रैछ । हामी सोझा-साझा र साधारण मान्छेले पोस्ट देखेसी ट्वा बाहेक अरु के पर्नु र ।’ धेरैले भने उनलाई ‘सुन्दरी’ भन्दै तारिफको पुल बाँधेका छन् । तस्विरमा उनलाई विछ्यौनामा निदाइरहेको देख्न सकिन्छ ।

उनले दुई वर्षअघि चलचित्र ‘बुलबुल’ मा गरेको अभिनयको निकै प्रशंसा भएको थियो । यो चलचित्रबाट उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसम्म चुमेकी थिइन् । स्वस्तिमाको गत वर्षको चैत २८ गते चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनमा आउँदै थियो । तर, कोरोनाका कारण लकडाउन भएपछि चलचित्रको प्रदर्शन स्थगन भयो । उनी पछिल्लो पटक श्रीमान् निश्चल बस्नेतसँग चलचित्र ‘घामड शेरे’ मा देखिएकी थिइन् ।




