नेपाली चलचित्र क्षेत्रमा गएको तीन महिनादेखि कुनै प्रकारका गतिविधि भएका छैनन् । कोरोनाका कारण जारी लकडाउन खुकुलो भए पनि सिनेमा हलहरु बन्दै छन् । चलचित्र छायांकनका लागि सरकारले अनुमति पनि दिएको छैन । लकडाउन पूर्ण रुपमा नखुलेसम्म मनोरञ्जन क्षेत्र ठप्पै रहने देखिन्छ । यसपछि पनि झण्डै एक वर्ष चलचित्र क्षेत्र चलायमान हुन समय लाग्नेछ ।

कोरोनाबाट बच्न लागू गरिएको लकडाउनपछि घरभित्रै सीमित भएका कलाकारहरु अब काममा फर्किने इच्छा व्यक्त गरिरहेका छन् । लकडाउनअघि फिल्मको छायांकनका कारण विरलै फुर्सदसँग बस्न पाएका उनीहरु तीन महिनादेखि घरको चारकुनामा नजरबन्द हुँदा दिकदार भएका छन् । तर, स्थिति सामान्य नहुँदासम्म घरभित्रै दैनिकी विताउनुको उनीहरुसँग अरु विकल्प छैन ।

अभिनेता आर्यन सिग्देल चाँडै चलचित्र दुनियाँ पुनः सुचारु हुने आशमा छन् । लकडाउन भएपछि केही हप्ता आफ्नो जन्मथलो थानकोटमा बसेर राजधानी फर्किएका उनले शनिवार इन्स्टाग्राममा लेखेका छन्, ‘अब चाँडै सुरु हुनेछ चलचित्र दुनियाँ ।’ उनको यो कुराबाट बुझ्न सकिन्छ कि आर्यन अब काममा फर्किन चाहन्छन् । त्यसका लागि उनी चलचित्र दुनियाँ पुनः सुचारुको प्रतिक्षामा छन् ।




