साम्राज्ञीलाई भुवनको जवाफ: ‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने’



शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्स्टाग्राममा एक भिडियो पोस्ट्याइन्, जहाँ उनले ५ वर्षको अवधिमा आफूले ८ फिल्ममा काम गर्दा धेरै नराम्रो अनुभव भोगेको बताउँदै केही फिल्मको सुटिङ सेटमा खाना र पानीको उपलब्ध गराउन आग्रह गर्दा निर्माता/निर्देशकले अपशब्द बोल्ने गरेको भन्दै पीडा पोखेकी छन् । उनको यो भनाईले यतिबेला नेपाली फिल्म क्षेत्र तातेको छ ।

साम्राज्ञीको यो अभिव्यक्ति निर्माता तथा कलाकार भुवन केसीतर्फ पनि केन्द्रित थियो । उनले थुप्रै पटक मिडियासँगको अन्तर्वार्तामा फिल्म ‘ड्रिम्स’ को सेटमा आफूले भोगेका नराम्रा अनुभवहरु साटेकी छन् । तर, उनका भनाईहरुलाई नजरअन्दाज गर्दै आएका निर्माता भुवन केसीले यसपटक भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै साम्राज्ञीलाई जवाफ फर्काएका छन् ।

अभिनेत्री साम्राज्ञीले शुक्रवार इन्स्टाग्राममा साझेदार गरेको भिडियोमा सुटिङ सेटमा खाना र पानी माग्दा केही निर्माता तथा निर्देशकले अपशब्द बोलेको भनाईप्रति आक्रोशित हुँदै कलाकार भुवन केसीले फेसबुकमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने ।’

उनले सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरेर देखाउन आग्रह गरेका छन् । सम्भवतः अभिनेता केसी सामाजिक सञ्जालमा यसरी आक्रोशित भएर प्रस्तुत भएको पहिलो पटक हो । उनले आफ्नो डेब्यू निर्देशित फिल्म ‘ड्रिम्स’ बाट साम्राज्ञीलाई अभिनेत्रीको रुपमा भित्राएका थिए । डेब्यू फिल्म नै सफल हुँदा साम्राज्ञीले आफूलाई स्टार अभिनेत्रीको रुपमा उभ्याएकी थिइन् ।

फिल्मको सेटमा आफूमाथि निर्माता/निर्देशकले गरेका नराम्रा व्यवहार सुनाउँदै साम्राज्ञीले शुक्रवारको भिडियोमा भनेकी थिइन्, ‘सुटिङ सेटमा खाना र पानी माग्दा कति निर्माता/निर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने बुझेको छु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu