हास्यब्यँग्य अभिनेता किरण केसी (राता मकैं) ले १५ असारमा जन्मदिनको अवसर पारेर चलचित्र क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै बरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी र पत्रकार तथा चलचित्र निर्देशक डब्बु क्षत्रीलाई सम्मानित गरेका छन् । आफ्ना दिवंगत हजुरबुबा, हजुरआमा, बुबा र आमाको सम्झनामा सात वर्षअघि स्थापित सम्मानबाट गिरी र क्षत्रीलाई सोमबार ललितपुरमा सम्मान गरेका हुन् ।
साढे चार दशकभन्दा लामो समयदेखि निरन्तर अभिनयमार्फत नेपाली चलचित्र, टेली चलचित्र, नाट्य क्षेत्रमा योगदान पुर्याएको भन्दै १० हजार रुपैयाँ राशी सहितको हास्यव्यंग्य कलाकार योगदान सम्मानबाट बरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरीलाई सम्मानित गरेका अभिनेता किरण केसीले २७ वर्षदेखि रंग पत्रकारितामार्फत चलचित्र र कला क्षेत्रमा योगदान पुर्याएकाले डब्बु क्षत्री (डम्बर बहादुर बुढाथोकी) लाई पत्रकारिता क्षेत्रबाट १० हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरे ।

केसीले भने- ‘जन्म दिनमा मैले मेरो दिवंगत पितृको सम्झनामा ७ वर्षदेखि यो सम्मान एकजना हास्यव्यंग्य कलाकार र एकजना कला पत्रकारलाई नियमित प्रदान गर्दै आईरहेको छु र मेरो शेषपछि पनि यो निरन्तर होस् भन्ने चाहना राखेको छु ।’ उनले कला क्षेत्रमा बरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी र पत्रकार गीतकार डब्बु क्षत्रीले पत्रकारितामा पुर्याएको योगदानको पनि कार्यक्रममा चर्चा गरे ।
मुलुकमा कोरोना संक्रमणको महामारी रहेका कारण विगत जस्तो भव्य समारोह नगरी आफ्नो कार्यालयमै ११ जनाको उपस्थितिमा यो सम्मान प्रदान गरेको पनि अभिनेता केसीले बताए । कोरोनाकै कारण यसपटक जन्मदिनमा आफुले केक नकाटेको र तडकभडक नगरेको पनि उनले स्पष्ट पारे ।




