तीन वर्षपछि भिडियोमा पल र स्वस्तिमा, चलचित्रमा कहिले ?



कोरोनाको संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि धेरै कलाकारहरु फुर्सदिला भएका छन् । अभिनेता पल शाह पनि तीन महिना घरभन्दा बाहिर निस्किएनन् । लकडाउन खुकुलो भएपछि भने उनी म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । दुई हप्ताअघि उनले ‘ए है माया’ बोलको गीतमा अभिनय गरे । मंगलवार उनले अभिनेत्री स्वस्तिमा खड्कासँग अर्को नयाँ गीतको छायांकन भ्याएका छन् ।

तीन महिनापछि एक्सन-कटमा फर्किन पाउँदा स्वस्तिमा खुसी देखिएकी थिइन् । तर, धेरै दिनको विश्रामले उनलाई ढाड दुखेर नाच्न समस्या भइरहेको थियो । पललाई पनि ‘ए है माया’ गीतको रिहर्सल गर्दा यस्तै समस्या भएको रहेछ । गीतको सुटिङ सेटमा स्वस्तिमाले ढाड दुखेको भनिरहँदा पलले त्यही दिन सम्झिए । तर, स्वस्तिमाले ढाड दुख्दा पनि राम्रो काम गरेको उनले बताए ।

पल र स्वस्तिमाले तीन वर्षपछि म्यूजिक भिडियोमा स्क्रिन साझेदारी गरेका हुन् । तीन वर्षपछि काम गर्दा एकअर्कामा कुनै परिवर्तन नदेखेको उनीहरुको भनाई छ । म्यूजिक भिडियोमा सँगै काम गरे पनि चलचित्रमा भने यो जोडीले रोमान्स गर्न पाएका छैनन् । यी दुईलाई सिल्भर स्क्रिनमा हेर्न दर्शकहरु प्रतिक्षारत छन् । के उनीहरु पनि चलचित्रमा सँगै काम गर्न इच्छुक छन् त ?

स्वस्तिमा भन्छन्, ‘म चलचित्र क्षेत्रमा आउँदा पललाई म्यूजिक भिडियोको ‘किंग’ भनिथ्यो । मेरो पहिलो चलचित्र प्रदर्शन नहुनुभन्दा अगाडि पलसँग एक भिडियोमा काम गरेको थिएँ । पहिलो भेटमा नै उसले ४ घण्टा कुराएको कहिल्यै विर्सन्नँ । मेरो करिअरको सुरुवात नै पलसँग भएकाले ऊसँग चलचित्रमा पनि काम गर्ने इच्छा छ । राम्रो स्क्रिप्टबाट अफर आए अवश्य काम गर्नेछौं ।’

पलले पनि स्वस्तिमाको कुरामा सहमति जनाए । आफूसँगै काम गरेका को-एक्टरको प्रगति देख्दा खुसी लाग्ने बताउँदै उनले भने- ‘स्वस्तिमासँग चलचित्रमा काम गर्न मलाई पनि इच्छा छ । म्यूजिक भिडियोमा तीन वर्षपछि काम गर्ने मौका जुर्‍यो । चाँडै चलचित्रमा पनि काम गर्न पाइन्छ भन्नेमा म विश्वस्त छु ।’ उनले चलचित्र क्षेत्र चाँडै पहिलेको जस्तै अवस्थामा फर्किने पनि विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu