‘छक्का पञ्जा’ सिरिजकी निर्देशक तया हास्यकलाकार दीपाश्री निरौला पनि केही दिनयता आफ्नो अभिव्यक्तिका कारण आलोचनाकी पात्र बनेकी छन् । हालै एक अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई दिइएको ‘महानायक’ को उपाधिमाथि प्रश्न उठाउँदा सामाजिक सञ्जालमा उनले विरोधको सामना गर्नुपरेको छ । हमालका प्रशंसकहरुले उनलाई अश्लिल गाली समेत गरिरहेका छन् ।

चलचित्र क्षेत्रमा परेको विषम परिस्थितिमा अभिभावकत्व निर्वाह गरेर आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पीर मर्कामा ‘महानायक’ सहयोगी हुन नसकेकाप्रति उनको असन्तुष्टि थियो । आफ्नो अभिव्यक्ति विवादित बनेपछि दीपाश्रीले हमालका प्रशंसकसँग माफी मागेकी छन् । राजेश हमाललाई ‘सुपरस्टार’ होइन भन्ने आफ्नो हैसियत नभएको उनको भनाई छ ।
दीपाश्रीले बुधवार फेसबुकमा लेखेकी छन्, ‘के प्रधानमन्त्री, के महानायक, के कलाकार अथवा के भगवान । सबैसँग गुनासो गर्न पाइन्छ । एउटा उच्च सम्मानमा बसेको मान्छेबाट केही आशा हुन्छ नै, मेरो आशय त्यत्ति मात्र हो । राजेश हमाललाई सुपरस्टार नै होइन भन्ने हैसियत मेरो थिएन, छैन र हुने पनि छैन । मेरो पहिलो चलचित्रको नायक हो उहाँ, उहाँलाई अत्यन्त सम्मान गर्छु ।’
हमालका प्रशंसकहरु गाली गलौचमा उत्रिएकोप्रति चित्त दुखाउँदै उनले अगाडि थपेकी छन्, ‘काठमाडौंमा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएकी म सामान्य कलाकार हुँ । मेरो विगतले नै मलाई घमण्ड गर्ने अनुमति दिँदैन । म यो क्षेत्रमा ३० बर्षदेखि छु । टुप्पोबाट पलाएको पनि छैन । हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहि रहनु हुनेछ ।’

‘महानायक’ को हिसाबले चलचित्र क्षेत्रको पीडामा मलम नलगाए त्यो पदमा शंका उठ्ने आफ्नो आशय रहेको र यी कुरा नगरेर आफू राजेश हमाललाई भगवान बनाउने पक्षमा नभएको उनको भनाई छ । उनले आफ्नो अभिव्यक्तिले हमाल सुपरस्टार होइन भन्ने बुझिन गएकोमा माफी मागेकी छन् । उनले भविष्यमा शब्द संयोजनमा सचेत भएर जवाफ दिने पनि बताएकी छन् ।




