यहाँ अरुको चलचित्र चलेको देख्न सक्दैनन् : साम्राज्ञी



गएको शुक्रवार अभिनेत्री साम्राज्ञी आरएल शाहले इन्स्टाग्राममा एउटा भिडियो शेयर गर्दै ५ वर्षको अवधिमा काम गरेका ८ चलचित्रमध्ये तीनवटा ब्यानरका व्यक्तिहरुबाट आफूले सहनु परेको नराम्रा व्यवहार सार्वजनिक गरिन् । साम्राज्ञीले आफ्नो भनाई राख्ने क्रममा कसैको नाम उच्चारण नगरे पनि उनले इंकित गरेका व्यक्ति को हुन् भन्ने सबैले ठम्याइसकेका छन् ।

उनले इंकित गरेका व्यक्तिमध्ये एक अभिनेता तथा निर्माता भुवन केसीले फेसबुकमा स्टाटस लेखेर साम्राज्ञीप्रति कटाक्ष गर्दै ‘जुन थालमा खायो त्यही थालमा प्वाल पार्‍यो’ भन्दै ‘ड्रिम्स’ को नाम भजाएर खाइरहेको आरोप लगाए । उनको जवाफको प्रतिउत्तरमा साम्राज्ञीले इन्स्टामा दोस्रो भिडियो शेयर गर्दै जापानमा भएको फिल्म अवार्डमा आफूमाथि गरेको दुर्व्यवहारको पर्दाफास गरिन् ।

बिहीवार उनले इन्स्टामा अर्को भिडियो साझेदार गर्दै भविष्यमा यस्ता व्यवहार भए के गर्ने भनेर चाँडै कानुनी परामर्श लिन लागेको बताएकी छन् । ‘आशा गर्छु भविष्यमा यस्ता कुराहरु नहुन् । यदी यस्ता कुराहरु भयो भने अब म कानुनी बाटो रोज्छु । चाँडै म यो विषयमा कानुनी सल्लाह पनि लिने सोचमा छु । म अरुलाई पनि अन्याय सहेर नबस्न सल्लाह दिन्छु’, उनले भनेकी छन् ।

आफूमाथि भएको दुर्व्यवहारको बारेमा पहिला नै बोल्न खोज्दा धेरैले आफूलाई रोकेको उनको भनाई छ । केही वर्ष अगाडि एक अन्तर्वार्तामा आफ्नो स्ट्रगलको बारेमा बोल्दा तिनै कुरालाई घुमाएर आफूलाई नराम्रो बनाइएको दुखेसो पोख्दै उनले भनेकी छन्, ‘सही कुरा बोल्दा यहाँ पावर र पोलिटिक्सले आफैंलाई नराम्रो बनाइदो रहेछ । यसपछि ममीले मलाई यो कुरा ननिकाल्न आग्रह गर्नुभयो ।’

परिवारका लागि चुप बसे पनि आफूलाई यस्ता कुराहरु लुकाएर बस्न मन नलाग्ने उनको भनाई छ । लगातार काम गरेका तीन चलचित्रपछि चलचित्र क्षेत्रका व्यक्ति देखावटी रुपमा मात्र राम्रा तर भित्री रुपमा एकै प्रकारका हुने रहेछन् भन्ने उनलाई महशुस भएको रहेछ । तीन चलचित्रका व्यक्तिहरुले गरेको नराम्रो व्यवहारपछि आफू चलचित्र नगर्ने सोचमा समेत पुगेको उनी सम्झन्छिन् ।

‘मेरो मामुले यत्रो दुःख गरेर नाम कमाइस् । आफ्नो खुट्टामा उभिसकेको छस् । यति ठूलो निर्णय लिइसकेपछि किन तल झर्छस् भनेर सम्झाएपछि मैले पुनः चलचित्र गर्न थालेको हुँ,’ साम्राज्ञीले अगाडि भनेकी छन्, ‘त्यसपछि मैले साँचिक्कैको राम्रो मान्छेहरुसँग काम गर्न पाएँ । त्यसपछि मलाई लाग्यो कि चलचित्र क्षेत्रमा राम्रा मान्छेहरु र राम्रा चलचित्र बनाउने मेकरहरु पनि हुँदा रहेछन् ।’

अभिनेत्री साम्राज्ञी आरएल शाहले राम्रा निर्माता/निर्देशकहरुसँग चलचित्रमा काम गर्दा पनि विगतमा भोगेको नराम्रा व्यवहार आफूले कहिल्यै विर्सन नसकेको र केही दिनयता ती कुराहरु सार्वजनिक गरेपछि निकै हल्का महशुस गरिरहेको बताएकी छन् । नेपाली फिल्म क्षेत्रमा अरुको चलचित्र चलेको देख्न नसक्ने, चलचित्र हिट भयो भने डाहा गर्ने प्रवृति पनि व्याप्त रहेको उनको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu