नेपाली चलचित्रमा अभिनेताको रुपमा डेब्यू गर्ने गायकहरु धेरै छन् । उदित नारायण झा, मुरलीधर, रामकृष्ण ढकाल, धीरज राई, कोशिश क्षेत्री, राजेश पायल राई, यश कुमार बाबु बोगटी, लाउरे, सत्यराज आचार्य, निमा रुम्बालगायतले गायकसँगै आफूलाई अभिनेताको रुपमा पनि स्थापित गर्ने प्रयास गरेका थिए । तर, गायनमा सफल उनीहरुलाई चलचित्र अभिनयमा सफलता मिलेन ।
एकपछि अर्का नाम कहलिएका गायकहरुलाई सिल्भर स्क्रिनमा दर्शकले अस्वीकार गरिरहे पनि चलचित्रमा नायकको रुपमा डेब्यू गर्ने गायकको संख्यामा भने खासै कमी आएको छैन । यसबीच, चर्चित गायक दुर्गेश थापा पनि ढिलोचाँडो चलचित्रको हिरो हुने तयारीमा रहेका छन् । उनी गायक मात्र नभइ अहिलेका चल्तीका मोडल समेत हुन् । उनको युवापुस्तामा गजबको क्रेज छ ।

हालै एक भिडियोको छायांकनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूलाई चलचित्रको अफर आइरहेको बताएका छन् । तर, तत्काल चलचित्र गर्ने सोचमा नभएको उनको भनाई छ । गायक तथा मोडल थापाले भनेका छन्, ‘चलचित्र गर्ने इच्छा छ । तर, म महिनामा २२ दिन जति कार्यक्रमै व्यस्त हुन्छु । त्यही कारणले चलचित्रका लागि समय दिन सकेको छैन ।’
उनले अगाडि थपे- ‘चलचित्रमा जानु पर्यो भने भिडियोबाट एक वर्ष ग्याप लिन्छु । चलचित्रमा केही फरक गरेर जाने इच्छा छ । भिडियो र चलचित्रमा मबाट दर्शकले केही फरक पाएनन् भने मज्जा आउँदैन । त्यसैले एक वर्ष भिडियोबाट ग्याप लिएर र आफूलाई मेन्टेन गरेर चलचित्र गर्छु ।’ नायकको रुपमा असफल गायकहरुको भीडमा दुर्गेश अपवाद बन्न सक्लान् त ?




