गायक अरुण थापा बन्दै प्रदीप ?



दर्शकको नाडी छामेर मनछुने लभस्टोरी चलचित्र बनाउन सिपालु मानिने निर्देशक दिनेश राउत र लभस्टोरी चलचित्रमा रुचाइएका अभिनेता प्रदीप खड्काबीच पहिलो पटक टिमअप भएको छ । उनीहरुले चर्चित गायक अरुण थापाको बायोपिकमा चलचित्र बनाउन लागेको खबर बाहिरिएको छ । यद्यपि, यस विषयमा निर्माण टिमबाट आधिकारिक जानकारी प्राप्त भएको छैन ।

गोप्य स्रोतले दिएको जानकारी अनुसार, फिल्ममा गायक थापाको गायन यात्रादेखि प्रेम जीवनसम्म समेटिनेछ । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘चोट के हो, बेथा के हो’, ‘जति माया लाए पनि’ लगायत दुई दर्जन बढी लोकप्रिय गीतमा स्वर भरेका गायक अरुण थापाको भूमिका पर्दामा प्रदीपले निभाउनेछन् । ५० वर्षअघिको सेटअपमा चलचित्र तयार गरिनेछ ।

०५६ साउन ५ गते यस संसारबाट बिदा भएका गायक थापाकी एक छोरी छिन्, करुण थापा । उनी अष्ट्रेलियामा बस्ने गरेकी छन् । बायोपिक चलचित्र बनाउन सम्बन्धित व्यक्ति वा उसको परिवारको अनुमति चाहने हुँँदा निर्देशक दिनेश थापाको टिम गायक अरुण थापाकी छोरीसँग भेट गर्ने सोचमा रहेको स्रोतले बताएको छ । केही हप्तादेखि चलचित्रको स्क्रिप्टमा भने काम भइरहेको छ ।

स्रोतका अनुसार, गायक अरुण थापाको २१औं स्मृति दिवसको अवसरमा साउन ५ गते चलचित्रको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा निर्माण टिम छ । चलचित्रलाई प्रभु बैंकमा आबद्ध एक व्यक्तिले निर्माण गर्न लागेको जानकारी प्राप्त छ । चलचित्रको कथा विकास सुवेदी र निर्देशक राउतले मिलेर लेखिरहेका छन् । अर्को वर्षको सुरुवातमा चलचित्रको छायांकन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu