आजका नारीलाई कमजोर नठान्न साम्राज्ञीको चेतावनी



अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता भुवन केसीबीचको विवादले केही दिनयता चलचित्र क्षेत्र तातेको छ । उनीहरुको विवाद चलचित्र कलाकार संघसम्म्म पुगिसकेको छ । साम्राज्ञीले जापानमा भएको अवार्डमा दुर्व्यवहार गरेको आरोप लगाएपछि अभिनेता केसीले आफ्नो प्रतिष्ठामा आँच पुगेको भन्दै शुक्रवार कलाकार संघमा निवेदन दिएका हुन् । उनले पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुरा नबोल्न र पुनः यस्ता गतिविधि गरे साइबर क्राइमको मुद्धा हाल्ने चेतावनी दिएका छन् । उनको जवाफको प्रतिउत्तर साम्राज्ञीले पनि फर्काएकी छन् ।

सोमवार सामाजिक सञ्जाल फेसबुकमा उनले नव-प्रवेशी कलाकारले आफ्ना सुरुको संघर्षका दिनहरूमा भोग्नु परेको अदृश्य उत्पीडन, वास्तविक अप्ठ्याराहरु र आफूलाई ‘मै हुँ’ भन्ने निर्माताहरुको हेपाह प्रवृत्ति र दुर्व्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ? भन्दै प्रश्न गरेकी छन् । यस्ता वास्तविकतालाई कसैले आफ्नो प्रतिष्ठाको बिषय बनाउनु बिडम्बना रहेको उनको भनाई छ ।

‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर सामाजिक सञ्जाल अनेकथरी भन्नु कहाँसम्म उचित हो ? के हो वरिष्ठ र प्रतिष्ठित व्यक्ति भनेको ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ ?’, उनले प्रश्न गरेकी छन् । कुनै पनि व्यक्तिको बोलचालीले समाजमा उसलाई प्रतिबिम्बित गर्ने भएकाले बोल्दा विचार पुर्‍याउन उनको सुझाव छ ।

उनले अगाडि लेखेकी छन्, ‘कुनै पनि कलाकारले स्वयं उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ, जुन कुराको भुक्तभोगी तपाईं स्वयं हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछिका पाएको भन्ने तर्क विल्कुलै मिल्दैन ।’ उनले नयाँ कलाकारलाई कम पारिश्रमिक दिएर अत्याधिक फाइदा लिने चलन कहिलेसम्म हुने भन्दै प्रश्न पनि उठाएकी छन् ।

कलाकारले प्राप्त गरेको उचाई उसको लगन र मेहनतको फल रहेको उनको तर्क छ । पुनः आफूमाथि अनर्गल र झुटा आरोप लगाए साइबर क्राइमको मुद्धा हाल्ने अभिनेता भुवन केसीको चेतावनीप्रति लक्षित गर्दै साम्राज्ञीले कसैले अप्रिय कुरा अभिव्यक्त गरेमा कानुनी उपचार रोज्छु भन्नु देशको एक नागरिकको हिसाबले संविधान प्रदत मौलिक अधिकार रहेको उल्लेख गरेकी छन् ।

आजका नारीलाई कमजोर नठान्न पनि उनले चेतावनी दिएकी छन् । उनले अगाडि लेखेकी छन्, ‘आजका नारीहरु यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकुन् चाहे त्यो सामाजिक हिसाबले ले होस् या कानुनी हिसाबले ! आजका महिलाहरु हरेक हिसाबले सबल छ्न् भन्ने कुराको हेक्का राखौं ।’ चलचित्र क्षेत्रको विकास गर्ने भावना भए सबै निर्माताहरुले ‘मै हुँ’ भन्ने प्रवृत्ति त्यागेर नव-कलाकारप्रति गरिने व्यवहारमा सुधार गर्नुपर्ने उनको सुझाव छ ।

साम्राज्ञीले समुहगत स्वार्थ राखेर स्थापित कलाकारप्रति पक्षपात व्यवहार र गुटबन्दी गरि चलचित्र क्षेत्रबाटै पलायन गराउने षड्यन्त्रबाट मुक्त हुनुपर्ने पनि बताएकी छन् । यसो नभए यस क्षेत्रमा आउन खोज्ने पढेलेखेका र योग्य कलाकारहरुको खडेरी हुने र स्थापित कलाकारहरु विस्थापित हुने उनको भनाई छ । यसका लागि सबैले आ-आफ्नो भूल स्वीकार गर्नुपर्ने उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu