लकडाउनमा बदलियो निखिलको लुक्स



जनता रोगले भन्दा भोकले मर्ने अवस्था सृजना हुन थालेपछि सरकारले कोरोनाका कारण तीन महिनादेखि जारी गरेको लकडाउन गएको महिनादेखि लुजडाउनमा बदलेको छ । कम जोखिमका विभिन्न क्षेत्र खोलिएको छ । तर, मनोरञ्जन क्षेत्र लकडाउन अन्त्य नभएसम्म पुनः सञ्चालनमा आउने सम्भावना न्यून छ । गएको तीन महिनादेखि चलचित्र क्षेत्रमा कुनै गतिविधि भएका छैनन् ।

चलचित्र निर्माणदेखि प्रदर्शनसम्म रोकिँदा कलाकारहरु फुर्सदिला भएका छन् । तीन महिनादेखि घरमै परिवारसँग समय विताइरहेका उनीहरु काममा फर्किने प्रतिक्षामा छन् । लकडाउनले घरभित्रै सीमित हुँदा कति मोटाएर चिन्तित छन् । कति संक्रमणको डरले दाह्री र कपाल काट्न सैलुनसम्म जान सकेका छैनन् । लकडाउनमा धेरै अभिनेताको लुक्स नै बदलिएको छ ।

कोरोनाको भयले लामो समयदेखि घरको चारकुनामा सीमित रहेका एक्सन अभिनेता निखिल उप्रेतीको लुक्स पनि निकै फेरिएको छ । केही दिनअघि उनले आफ्नो आधिकारिक फेसबुकमा एक तस्विर साझेदार गरेका छन्, जसमा उनलाई लामो कपाल र दाह्रीमा देख्न सकिन्छ । झट्ट हेर्दा उनलाई ठम्याउन पनि मुश्किल पर्छ । यद्यपि, बढेको कपाल र दाह्री उनलाई सुहाएको भने छ ।

उनको बदलिएको लुक्स नयाँ चलचित्रका लागि त होइन ? किनकि, उनी ‘भैरव’ को सिक्वेलको तयारीमा छन् । ‘आयो भैरव’ नाम राखिएको चलचित्रलाई उनी आफैंले निर्देशन गर्दैछन् । स्थिति सामान्य भएको थियो भने यतिबेला उनी चलचित्रको छायांकन गरिरहेका हुन्थे । तर, लकडाउनका कारण चलचित्र फ्लोरमा जान सकेन । दर्शकहरु अभिनेता निखिललाई पर्दामा हेर्न निकै आतुर छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu