लकडाउनको समयमा कलाकारहरु आफ्नो अभिव्यक्तिका कारण विवादित बनिरहेका छन् । केही दिनयता ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले अभिनेता राजेश हमालप्रति कटाक्ष गर्दै महानायक को हो ? कहाँ छन् ? भनेर दिएको अभिव्यक्तिलाई लिएर विभिन्न खाले टिका-टिप्पणी भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ता दीपाश्रीको विरोधमा उत्रिएका छन् ।

एक अन्तर्वार्तामा दीपाश्रीले राजेश हमाललाई आफूले नचिन्ने आशय व्यक्त गरेपछि सामाजिक सञ्जालमा दीपकराज गिरीलाई उनले महानायक बनाउन खोजेको टिका-टिप्पणी भइरहेको छ । ‘महानायक दीपकराज गिरी भन्दा कस्तो सुनिन्छ ?’ भनेर कयैन् ट्रोल बनेका छन् । आफूलाई ‘महानायक’ को पदवी भिराइएको बारे दीपकराजले आफ्नो भनाई सार्वजनिक गरेका छन् ।
‘जबदेखि कलाकार भएँ, हरिदाई, मदनदाई र सन्तोषदाई जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थेँ । मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएन,’ उनले फेसबुकमा लेखेका छन् । उनले आफ्नो गल्ती विना नै जबरजस्ती रुपमा महानायक बनाउनेहरूलाई धन्यवाद दिएका छन् । उनले आफू सत्य भएकाले चुपचाप आफ्नो बाटो हिँड्नु राम्रो हुने उल्लेख गरेका छन् ।




