गएको चार महिना अगाडि यूट्युबमा सार्वजनिक भएको चलचित्र ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ गीत दर्शकले निकै रुचाएका छन् । अहिलेसम्म यो गीतले यूट्युबमा डेढ करोडभन्दा बढी भ्यूज बटुलिसकेको छ । १ लाख ११ हजार लाइक्स मिलेको गीतलाई ५ हजारभन्दा बढी तारिफले भरिएका कमेन्ट प्राप्त छन् । गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर छ ।

मदनकृष्ण श्रेष्ठदेखि दीपाश्री निरौलासम्मले ठुम्का लगाएको गीतले दर्शकमा चलचित्रप्रति अपेक्षा बढाएको छ । जुन निर्माण टिमका लागि सुखद कुरा हो र चुनौतीपूर्ण पनि । यो गीतका कारण चलचित्रको व्यापारमा फाइदा पुग्ने विश्वास निर्माण टिमको थियो । तर, गीत हिट हुनु र देश लकडाउन हुनु एकै समयमा पर्यो । गएको बैशाख १२ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै गीत रिलिज गरिएको थियो ।
सरकारले कोरोनाका कारण लकडाउनको घोषणा गरेपछि ‘हिजो आजका कुरा’ को प्रदर्शन अनिश्चितकालका लागि रोकिएको छ । डेढ करोडको लगानीमा बनेको यो चलचित्र लकडाउन खुले लगत्तै प्रदर्शनमा आउने सम्भावना पनि कम छ । किनकि, कोरोनाको भयले लामो समयसम्म दर्शक हलमा चलचित्र हेर्न आउने देखिन्न । यस्तो अवस्थामा चलचित्र प्रदर्शन गर्न कसले आँट देखाउने र ?
साकार पन्तको निर्देशन रहेको चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मालगायतका कलाकारहरुको अभिनय छ । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथा चलचित्रले वाचन गरेको छ ।
गीत हेर्नुहोस् :-




