चलचित्र ‘प्रेमगीत’ भन्दा अगाडि गुमनाम अनुहार हो, अभिनेत्री पूजा शर्मा । यो चलचित्रभन्दा अगाडि उनले ‘थ्रि लभर्स’, ‘मधुमास’ र ‘चंखे शंखे पंखे’ चलचित्रमा काम गरे पनि उनले आफूलाई अभिनेत्री रुपमा स्थापित गर्न सकेकी थिइनन् । सुदर्शन थापाले निर्देशन गरेको लभस्टोरी चलचित्र ‘प्रेमगीत’ भने उनको करिअरका लागि सञ्जीवनी बुटी सावित भयो ।
यो चलचित्रपछि अभिनेत्री पूजाले करिअर फर्केर हेर्नुपर्ने अवस्था सिर्जना भएको छैन । चलचित्र ‘म यस्तो गीत गाउँछु’ को सफलतापछि करिअरको उत्कर्षमा पुगेकी उनी अहिलेकी सर्वाधिक डिमान्डेड र महँगी अभिनेत्रीमध्ये एक हुन् । निर्माता तथा निर्देशकलाई के विश्वास छ भने उनको अनुहारले चलचित्र विक्छ ।

चलचित्र ‘रामकहानी’ अघिसम्म वर्षमा एउटाभन्दा बढी चलचित्र नगर्ने पूजा अहिले हातमा आएका प्रोजेक्ट कुनै फुत्काइरहेकी छैनन् । आखिर किन ? धेरै यसको कारण जान्न इच्छुक छन् । बुझिए अनुसार, अहिले उनी ललितपुरको एकान्तकुनामा दोस्रो घर बनाइरहेकी छन् । लकडाउनको समयमा पनि उनको घर निर्माणको काम रोकिएको छैन । उनले तीन तल्लाको घर बनाउन लागेकी हुन् ।
मंगलवार पूजाले इन्स्टाग्राम स्टोरीमा घर निर्माणको एक भिडियो शेयर गरेकी छन् । दशैंभित्र उनी नयाँ घरमा सर्ने योजनामा रहेको जानकारी प्राप्त छ । उनले घर बनाउनकै लागि बाहिरी ब्यानरका चलचित्रमा महँगो पारिश्रमिक लिएर काम गरिरहेको चर्चा छ । यद्यपि, यस विषयमा पूजाले मुख खोलेकी छैनन् । उनले कथावस्तु राम्रो लागेर चलचित्रमा काम गर्ने गरेको बताउने गरेकी छन् ।




