नेपाल चलचित्र निर्देशक समाजको पहलमा विगत ४ महिनादेखि चितवन मेडिकल कलेजमा उपचाररत समाजका सदस्य तथा चलचित्र निर्देशक किशोर चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । लामो समयदेखि कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइरहेका निर्देशक चौधारीको उपचारका लागि नेपाल चलचित्र विकास बोर्डको कल्याणकारी कोष तथा अमेरिका निवासी चलचित्र निर्देशकहरुबाट आर्थिक सहयोग प्राप्त गरिएको हो ।
कोरानाको महामारी र लकडाउनको समयमा पनि अमेरिकाबाट प्राप्त सहयोगको लागि चलचित्र निर्देशक समाजले धन्यवाद व्यस्त गरेको छ । यसबाट विश्वभरी छरिएर रहेका चलचित्रकर्मी र चलचित्र निर्देशकहरु अप्ठ्यारो परेको बेलामा एकै ठाउँमा छन् भन्ने सन्देश प्रवाह भएको समाजका महासचिव जनकदीप पराजुलीले बताए ।

उपचाररार्थ चौधरी कोरोना महामारीको प्रकोपका कारण भर्खरअस्पतालबाट डिस्चार्ज भएर घरमा नै उपचार गराइरहेका छन् । उनी निको हुने क्रममा रहेको समाजका महासचिव पराजुलीले बताए । अमेरिकामा रहेका चलचित्र निर्देशकहरुबाट कुल ३ सय ६१ डलर संकलन भएको थियो ।
उक्त डलर सटहीबाट प्राप्त ४२ हजार ६ सय ९७ रुपैयाँ तथा नेपाल चलचित्र बिकास बोर्ड कल्याणकारी कोषबाट प्राप्त २५ हजार रुपैयाँ गरी कुल ६७ हजार ६ सय ७९ रुपैयाँ निर्देशक चौधरीको परिवारलाई हस्तान्तरण गरिएको हो ।




