प्रशारणको तयारीमा ‘डान्सिङ विथ द स्टार नेपाल’



कोरोना महामारीका कारण महिनौदेखि घरमै थुनिएर बसेका दर्शकहरुले लोकप्रिय स्टारहरुको मनोरञ्जनात्मक रियालिटी सो हेर्न पाउने भएका छन् । लकडाउन अगाडी घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको ‘डान्सिङ विथ द स्टार नेपाल’ हिमालय टेलिभिजनबाट प्रशारणको अन्तिम तयारी भइरहेको छ ।

‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’, कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने– ‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं ।’ २६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक-एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिन्छन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुनेछ ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ,’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने– ‘लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याने निधो गरेका छौं ।’

नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी अभ्यास र सुटिङ गरिने कँडेलले जानकारी दिए । ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ ।

लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ । अनस्क्रिन प्रतिस्पर्धासँगै हुने स्क्रिन बाहिरका गतिबिधिले दर्शकलाई नृत्यमार्फत शारिरिक तथा मानसिक स्वास्थ्य मजबुद बनाउन सहयोग पुग्ने टेलिभिजनले बिश्वास लिएको छ ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् । हिमालय टेलिभिजन एचडीले ‘द भ्वाइस अफ नेपाल’ ‘द भ्वाइस अफ नेपाल किड्स’ ‘हिमालय रोडिज’ ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता चर्चित रियालिटी सोहरु प्रसारण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu