स्ट्यान्डप कमेडियन तथा कलाकार सन्दिप क्षेत्रीले मधेशी समुदायसँग माफी मागेका छन् । टेलिभिजन कार्यक्रम म ‘ह्वाट द फ्लप’ मार्फत् मधेसी महिलाको स्वाभिमानमा चोट पुर्याएको भन्दै वीरगन्जका युवा ओमप्रकाश सराफले क्षेत्रीविरुद्ध हुलाकमार्फत् उजुरी दिएका थिए । कलाकार क्षेत्रीले माफी नमागे सडक संघर्ष गर्ने वीरगन्जका युवाहरुले चेतावनी समेत दिएका थिए ।
भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता पाइने व्यवस्था लागू हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे सन्दिपले ‘ह्वाट द फ्लप’ कार्यक्रममा एक चरित्र निभाएर अभिनय गरेका थिए । यसबाट मधेशी महिलाको स्वाभिमानमा चोट पुगेको भन्दै विरोध भएपछि उनले बिहीवार ‘ह्वाट द फ्लप’ कार्यक्रममार्फत् नै मधेशी समुदायसँग माफी मागेका हुन् ।

उनले कार्यक्रममा माफी माग्दै भनेका छन्, ‘मैले पछिल्लो समयमा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाएँ । यसबाट म पनि मर्माहत भएको छु । मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाएपछि मेरो मन दुःख्नु स्वभाविक हो । हुन त मेरो उद्देश्य त्यो कदाचित होइन, त्यही पनि यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म माफी माग्न चाहन्छु ।’
म्यूजिक भिडियो र फिल्म अभिनयमा पनि सक्रिय रहेका कलाकार सन्दिप क्षेत्रीले ‘ह्वाट द फ्लप’ कार्यक्रममा निर्वाह गरेको मिठाइलाल चरित्रलाई दर्शकहरुले निकै रुचाएका थिए । तर, निर्देशक दिनेश डिसी कान्तिपुर टेलिभिजनको स्टेशन म्यानेजर भएपछि उक्त चरित्रमा बन्देज लगाइएको छ । अहिले कलाकार क्षेत्रीले कार्यक्रममा विभिन्न व्यक्तिहरुसँग कुराकानी गर्ने गरेका छन् ।




