कोरोनाले थिलथिलो बनाएको चलचित्र क्षेत्र पहिलेकै अवस्थामा कहिले फर्किन्छ, कुनै टुंगो छैन । सरकारले भीडभाड हुने अन्य क्षेत्र सञ्चालनका लागि अनुमति दिए पनि चलचित्र क्षेत्र खोल्ने बारेमा कुनै निर्देशिका बनाएको छैन । न त यस क्षेत्रलाई कोरोना प्रभावित क्षेत्रमा नै राखिएको छ । बजेटमा समेत उपेक्षामा परेको यो क्षेत्र कोरोनापछि कसरी गतिशील होला ? अन्योलको स्थिति छ ।
कोरोनाका कारण अस्तव्यस्त रहेको चलचित्र क्षेत्रलाई पहिलोको अवस्थामा फर्काउन चलचित्र निर्माणको गति बढाउनु पर्ने र अहिलेका चल्ती कलाकारले पारिश्रमिक घटाएर काम गर्नुपर्ने बहस भइरहेको छ । के पहिलाको भन्दा कम पारिश्रमिकमा काम गर्न तयार छन् त कलाकारहरु ? अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का यो कुरामा सकारात्मक देखिएका छन् ।

शुक्रवार सञ्चारकर्मीसँग कुराकानी गर्दै पलले आफूले पहिला लिने पारिश्रमिकभन्दा २५ प्रतिशत कम गरेर म्यूजिक भिडियो गरिरहेको र चलचित्रमा पनि पारिश्रमिक घटबढ गर्न तयार रहेको बताएका छन् । ‘पारिश्रमिक घटाउने विषयमा टेवल टक गर्नुपर्छ । कलाकारले मात्र पारिश्रमिक घटाउने भन्ने चाहिँ हुँदैन । तर, सबैले पारिश्रमिक कम गर्न राजी भए म पनि तयार छु,’ उनले भने ।
त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्का स्थिति सामान्य भएपछि कलाकारले पारिश्रमिक कम गर्ने विषयमा सोच्नु पर्ने बताउँछिन् । ‘कोरोनाले सबैभन्दा ठूलो मारमा प्राविधिकहरु परेका छन् । हामीले पारिश्रमिक कम गर्दा उहाँहरुलाई सजिलो हुन्छ भने त्यो गर्नुपर्छ,’ उनी भन्छिन्, ‘म पनि पारिश्रमिक कम गर्न तयार छु । तर, चलचित्रको उद्येश्य बुझेर मात्र पारिश्रमिक घटाउने छु ।’




