दीपाश्रीलाई गाली गलौच नगर्न चलचित्रकर्मीको आग्रह



हास्यकलाकार तथा ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजन अन्तर्वार्तामा अभिनेता राजेश हमाल ‘महानायक’ होइन भन्ने आशयमा व्यक्त गरेपछि अहिले उनकोे सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । हमाललाई ‘महानायक’ को स्वीकार गरिसकेका प्रशंसकहरु दीपाश्रीमाथि अश्लिल गाली गलौचमा समेत उत्रिएका छन् ।

निर्देशक दीपाश्रीले ‘महानायक को हो ?’ भनेर दिएको अभिव्यक्तिलाई दर्शकहरुले दुईरचारवटा चलचित्र हिट भएपछि घमण्ड पलाएको भन्दै सामाजिक सञ्जालमा अश्लिल गाली गलौच गरिरहेका छन् । उनले हमालका प्रशंसकहरुसँग माफी मागिसक्दा पनि गालीको वर्षा रोकिएको छैन । उनीमाथि भइरहेको दुर्व्यवहार रोक्न हमाल आफैंले आह्वान गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

‘महानायक’ को विवादमा दीपाश्रीमाथि सामाजिक सञ्जालमा गाली गलौच नरोकिएपछि चलचित्रकर्मीहरुले यस्तो कार्य बन्द गर्न आग्रह गरेका छन् । प्रियंका कार्की, रेखा थापा, केकी अधिकारी, आकाश अधिकारी, प्रदीप कुमार उदय, केदार घिमिरे, सरिता लामिछाने, किरण केसीलगायतले दीपाश्रीको पक्षमा बोल्दै अशिष्टताको प्रदर्शन गर्नु निन्दनीय रहेको बताएका छन् ।

अभिनेत्री प्रियंका थापाले फेसबुकमा स्टाटस लेख्दै दीपाश्रीको विवादमा आफ्नो ध्यान आकर्षण भएको उल्लेख गरेकी छन् । कसैको तर्क, भाव या विचार चित्त नबुझे आवाज उठाउन पाउने अधिकार सबैमा सुरक्षित भए पनि कसैलाई अश्लिल गाली गलौच र चरित्र हत्या गर्न नमिल्ने उनको भनाई छ । गलत बयानका आधारमा कसैको चरित्रमा दाग नलगाउन पनि उनको आग्रह छ ।

कलाकार केदार घिमिरेले आफ्नो गल्तीको माफी मागिसकेको अवस्थामा गाली गलौच गर्नु राम्रो नभएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म पनि महानायक राजेश दादासँग व्यक्तिगत रुपमा माफी माग्दछु । अघिपछि राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे, त्यो दिन दिदीको ठुलै दशा रैछ। गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् ।’

अभिनेत्री रेखा थापाले कानुनी राज्य नभएको जस्तो गरेर असभ्य शब्दहरु प्रयोग गर्नेले एकपटक सोच्नुपर्ने बताएकी छन् । अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत स्वस्थ आलोचना गर्न पाइने तर आपत्तिजनक शब्द बोल्न र लेख्न नपाइने उनको भनाई छ । निर्माता प्रदीप कुमार उदयले भने दीपाश्रीमाथि भएको अश्लिल टिप्पणीप्रति चलचित्रकर्मीहरूको ध्यान जान जरुरी रहेको बताएका छन् ।

कलाकारहरुको छाता संस्था चलचित्र कलाकार संघले कलाकार तथा निर्देशक दीपाश्रीमाथि सामाजिक सञ्जालमा भइरहेको तल्लो स्तरको गाली गलौच र अश्लिल टिप्पणीप्रति निन्दा गरेको छ । संघले शनिवार विज्ञप्ती जारी गर्दै राम्रा र सभ्य भाषामा आलोचना गर्न आग्रह गरेको छ । संघले तत्काल उब्जिएका विवाद र समस्यालाई बिर्सिएर विवादको जड अन्त्य गर्न पनि अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu