चलचित्र ‘झेली’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री सुरविना कार्कीले अहिलेसम्म आफ्नो परिचयको दायरा फराकिलो बनाउन सकेकी छैनन् । आधा दर्जन बढी चलचित्रमा अभिनय गरे पनि कुनैले उनको करिअरलाई उचाइ दिन सकेनन् । न त उनले आफूलाई अब्बल अभिनेत्रीको रुपमा नै प्रमाणित गर्न सकिन् । ‘हट एण्ड बोल्ड’ तस्विरका कारण मिडियामा हुने चर्चामै उनी खुसी हुनु परेको छ ।

विगत ३ वर्षदेखि उनी भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी छिन् । आफ्नो फोटोसुटका तस्विर भिरेर मुम्बईका हरेक चलचित्र स्टूडियो धाउँदा पनि उनको सपनाले पखेटा हाल्न पाएका छैनन् । हुनत, उनी जस्ता हजारौं मुम्बईकोे सडकमा अभिनेत्री बन्ने सपना बोकेर कुदिरहेका हुन्छन् । तर, उनलाई विश्वास छ कि एक दिन आफ्नो बलिउडमा जम्ने सपना पूरा हुनेछ ।

लकडाउन हुनुभन्दा दुई दिनअघि नेपाल आएकी सुरविना अहिले एक गीतका कारण चर्चामा छिन् । निशान भट्टराई र एलिना चौहानको स्वरमा रहेको ‘के माया लाग्छ र रु’ बोलको गीतमा उनले गाउँकी एक साधारण युवतीको भूमिकामा अभिनय गरेकी छन् । उनको जोडीको रुपमा मुकुन भुषाल छन् । यो गीतमा उनको अभिनय र सुन्दरतालाई दर्शकहरुले निकै रुचाएका छन् ।

धेरैपछि म्यूजिक भिडियोमा अभिनय गरेकी सुरविनाले गएको ४ वर्षयता चलचित्रमा भने काम गरेकी छैनन् । उनको पछिल्लो रिलिज चलचित्र ‘लुकामारी’ हो । राम्रो स्क्रिप्ट र आफूलाई सुहाउँदो भूमिकाबाट अफर नआएका कारण मुम्बई गइरहनु परेको बताउने सुरविना आफ्नो करिअरलाई उचाइ दिने एक हिट चलचित्रको खोजीमा छिन् । कहिले पो पूरा हुने हो सुरविनाको यो सपना ?





