६९ वर्षका भए तुलसी घिमिरे



एक समय नेपाली चलचित्र क्षेत्र आफ्नो काँधमा बोकेर हिँडेका तुलसी घिमिरे बुधवारबाट ६९ वर्षका भएका छन् । २००८ असार ३१ गते दार्जिलिङको कालिम्पोङमा उनको जन्म भएको थियो । सन् १९८१ मा बनेको चलचित्र ‘बाँसरी’ बाट निर्देशनमा होमिएका उनले कयैन् उम्दा चलचित्र दिएका छन् । नेपाली चलचित्रले व्यवसायिक फड्को मार्नुमा उनको योगदान महत्त्वपूर्ण मानिन्छ ।

सानोमा राजा र प्रजाले मान्ने र चिन्ने मान्छे बन्नु भनेर आमा बुबाले दिएको आर्शिवाद निर्देशक घिमिरेको मनमा गडेर बसेको थियो । त्यही बेला उनले बलिउड अभिनेता राज कपुरलाई रसियामा पनि निकै सम्मान गरिन्छ भन्ने कुरा सुने । त्यसपछि उनी राजा र प्रजाले मान्ने मान्छे बन्न बम्बई हानिए, चलचित्रमा काम गर्न । त्यहाँ उनले लामो समय चलचित्र सम्पादकको रुपमा काम गरे ।

त्यही क्रममा उनको भेट नेपाली चलचित्रका निर्देशक प्रकाश थापासँग भयो । उनीहरुबीच नेपाली भाषामा कुराकानी भएको सुनेर एकदिन तुलसी घिमिरेका गुरुले उनलाई सोधे- ‘नेपालीमा कतिवटा चलचित्र बनेको छ ?’ जवाफमा उनले भने- ‘त्यस्तै सात आठवटा ।’ उनीसँग गुरुले गुरु-दक्षिणा मागे- ‘तिमीले १० वटा नेपाली चलचित्र बनाउनु ।’ यो भनेको केही हप्तामा उनको गुरुको निधन भयो ।

गुरुको आज्ञा शिरोधर गरेर उनले नेपाली चलचित्र बनाउने सोच बनाए । तर, सम्पादकको रुपमा काम गरिरहेका घिमिरेसँग न पैसा थियो न निर्देशनको अनुभव नै । त्यसपछि उनले पैसा जुटाउन थाले । उनका बंगाली साथी मोहन बेनर्जीले ‘बाँसरी’ मा लगानी गरे । यसपछि उनीहरुले ‘कुशुमे रुमाल’ बनाए । निर्देशक घिमिरेले दशौं चलचित्रको नाम गुरुप्रति समर्पित गरेर ‘दक्षिणा’ राखेका थिए ।

कलाकार, छायाँकार, सम्पादक र पटकथाकार समेत रहेका उनले भुवन केसी, निरुता सिंह, तृप्ति नाडकर, दीलिप रायमाझी, उत्तम प्रधानलगायत धेरै कलाकारलाई नेपाली फिल्ममा भित्राएका छन् । ‘लाहुरे’, ‘चिनो’, ‘दुई थोपा आँसु’, ‘देउता’, ‘दर्पण छाँया’, ‘लहना’ लगायतका चलचित्रको निर्देशन गरेका घिमिरेले निर्देशन गरेको पछिल्लो रिलिज चलचित्र ‘दर्पण छाँया २’ हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu