नेपाली चलचित्रकी प्रतिभावान अभिनेत्री ऋचा शर्मा बिहीवार आफ्नो जन्मदिन मनाउँदैछिन् । ३३ वर्षमा प्रवेश गरेकी उनको जन्म २०४४ साल साउन १ गते धनगडीमा भएको थियो । उनको बाल्यकाल कैलाली जिल्लामा नै वितेको थियो । सन् २००७ देखि ग्ल्यामर दुनियाँमा भित्रिएकी उनी नेपाली चलचित्रकी भर्सटायल अभिनेत्रीको रुपमा चिनिन्छिन् ।
गत वर्षको मंसिरमा दिपेक्ष राणासँग घरजम बसाएकी ऋचा सन् २००७ मा मिस नेपाल प्रतियोगिताको उत्कृष्ट दशभित्र परेकी थिइन् । उनले लिड अभिनेत्रीको रुपमा ब्रेक पाएको चलचित्र भने ‘फस्ट लभ’ हो । चलचित्र क्षेत्रमा एक दशकको यात्रा पार गरिसकेकी उनले ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’ लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।

ऋचा अभिनीत प्रायः चलचित्र बक्सअफिसमा असफल भए पनि उनी हरेक प्रकारका भूमिकामा आफूलाई ढाल्न सिपालु छिन् । चलचित्र ‘को आफ्नो’ मा उनले ग्रामीण भेगको दुःखी महिलाको भूमिका निभाएकी थिइन् । यसमा उनको भूमिका र अभिनयको प्रशंसा भएको थियो । ऋचाको करिअरको सबैभन्दा सम्झनलायक चलचित्रको रुपमा भने ‘टलकजंग भर्सेस टुल्के’ लाई लिइन्छ ।
यो चलचित्रले उनलाई राष्ट्रिय अवार्ड समेत दिलाएको थियो । चलचित्रमा उनले थारु महिलाको भूमिका निभाएकी थिइन् । ऋचा स्वयं पनि आफ्नो करिअरको उत्कृष्ट चलचित्रको रुपमा ‘टलकजंग’ लाई लिने गरेकी छन् । केही वर्षयता गुणस्तरभन्दा संख्यात्मक वृद्धिमा जोड दिइरहेकी उनको पछिल्लो रिलिज चलचित्र ‘न यता न उता’ हो । प्रदर्शनको पखाईमा भने ‘हिजो आजका कुरा’ छ ।
आफूलाई मनमा लागेको कुरा निर्भिक रुपमा बताउने ऋचा विवादमा उतिधेरै मुछिएकी अभिनेत्रीमा पर्दिनन् । यद्यपि, गएको केही वर्षअघि चलचित्र ‘छक्का पञ्जा’ को एक सिनलाई लिएर आपत्ति जनाएपछि दीपकराज गिरी समुहले उनलाई ‘असफल अभिनेत्री’ को संज्ञा दिएको थियो । अहिले उनले केही साथीहरुसँग मिलेर डिटिजल प्लेटफर्म ‘चलचित्र एप’ सञ्चालनमा ल्याएकी छन् ।




