एक्सन चलचित्रमा रुचाइएका अभिनेता रेश मरहठ्ठा लामो समयदेखि काँचको पर्दाबाट टाढा छन् । दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो रिलिज फिल्म ‘मिशन पैसा २’ हो । यसपछि उनले कुनै नेपाली फिल्ममा अभिनय गरेका छैनन् । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनको नेपाली चलचित्रमा कमब्याक कहिले होला ? दर्शक प्रतिक्षा गरेर बसेका छन् ।
चलचित्र ‘चाहान्छु म तिमीलाई नै’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनलाई फिल्म ‘पिंजडा’ ले दर्शकको ठूलो वर्गमा चिनाएको थियो । ‘भागी भागी नजाउ’, ‘मेरो बेस्ट फ्रेन्ड’, ‘मेरो जीवन साथी’, ‘काठमाण्डू’, ‘सीमाना’ लगायतका चलचित्रमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसकेका उनले म्यूजिक भिडियोमा पनि काम गरेका छन् । गएको केही महिनायता उनी नेपालमा छन् ।

अभिनेता रेश मरहठ्ठाले आफ्नो व्यापार व्यवसायका कारण पनि चलचित्रमा अभिनयमा समय दिन नसकेको बताएका छन् । उनले भने- ‘म कहिले पनि धेरै चलचित्र खेल्नुपर्छ भन्ने सोचाइबाट परिचालित भइनँ । ‘मिसन पैसा २’ पछि मैले नेपाली चलचित्रमा काम गरेको छैन । चलचित्र अफर नभएर होइन । म हराएको पनि छैन । अब आउँदा राम्रो कन्सेप्टका साथ आउनेछु ।’
अहिले एक अन्तर्राष्ट्रिय प्रोजेक्टमा आफू काम गरिरहेको उनको भनाई छ । तर, कोरोनाको महामारीले उक्त प्रोजेक्ट रोकिएको उनी बताउँछन् । ‘ढिलोचाँडो होला तर यति वर्षपछि आउँदा पनि नेपाली चलचित्र क्षेत्रको इज्जत राख्ने फिल्म लिएर आयो भनेर दर्शकले गर्व गर्नुहुनेछ । यदी त्यसो हुन सकेन भने चलचित्र नै रिलिज गर्दिनँ । बरु, घाटा नै किन नहोस्,’ अभिनेता रेश सुनिए ।




