अभिनेता सुधांशु जोशी र अभिनेत्री उषा पौडेल बैबाहिक जीवनबाट अलगिएको जानकारी प्राप्त भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएका उनीहरुले २०७३ सालमा विवाह गरेका थिए । विवाह गर्नुभन्दा अगाडि उनीहरु करीब ४ महिना प्रेम सम्बन्धमा थिए । दाम्पत्य जीवनमा दरार उत्पन्न भएपछि यी दुई गएको ६ महिनायता अलग-अलग बस्दै आएको बुझिएको छ ।
अहिले सुधांशु अमेरिकाको भर्जिनिया र उषा बाल्टिमोरमा बस्दै आएका छन् । अग्नीलाई साक्षी राखेर श्रीमान्-श्रीमतीको नातामा गाँसिएको चार वर्षसम्म पनि उनीहरुले विवाह दर्ता गरेका थिएनन् । उषाले बारम्बार विवाह दर्ताका लागि आग्रह गर्दा पनि सुधांशु नमानेपछि उनीहरुबीच खटपट सुरु भएको थियो । त्यसपछि उषाले भर्जिनिया छाडेर बाल्टिमोरमा बस्न थालेकी थिइन् ।

बुझिए अनुसार, केही समयअघि सुधांशु उषासँग कुरा गर्न बाल्टिमोर पुगेका थिए । तर, उनीहरुबीच सहमति हुन सकेन । पहिलो बैबाहिक सम्बन्ध टुंगिएपछि सुधांशुले उषासँग विवाह गरेका थिए । आइतवार आफ्नो जन्मदिन मनाइरहेकी उषालाई सुधांशुले ‘बर्थडे विस’ समेत गरेका छैनन् । दुवैले लामो समयदेखि एकअर्कासँगको तस्विर सामाजिक सञ्जालमा पनि राखेका छैनन् ।
लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुना मदन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उषाले केही भारतीय टिभी शृंखलामा पनि काम गरेकी थिइन् । नेपाली चलचित्रमा उल्लेखनीय प्रगति नभएपछि मुम्बई हानिएकी उनी त्यसपछि अमेरिका गएकी थिइन् । सुधांशु जोशी पनि केही नेपाली चलचित्रमा अभिनय गरेपछि अमेरिका भाँसिएका थिए । उनी चलचित्र ‘सीमारेखा’ मा मुख्य अभिनेता थिए ।




