‘कालो पोथी’ का निर्देशक मीनबहादुर भामको नयाँ चलचित्र ‘चिसो वर्ष’ को पटकथाले करिब १ करोड ३ लाख नेपाली रूपैयाँ बराबरको पुरस्कार जितेको छ । उक्त पुरस्कार इस्तानबुलमा आयोजित ‘टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याब’ ले प्रदान गरेको हो । यो ‘अन्तर्राष्ट्रिय सह निर्माण’ का लागि प्रदान गरिने आर्थिक अनुदान हो । चलचित्रलाई आर्थिक अनुदान प्राप्त भएकोमा निर्देशक भामले खुसी व्यक्त गरेका छन् ।

नेपाल–टर्कीको सह निर्माणमा बन्न हुन लागेको ‘चिसो वर्ष’ को गएको बैशाखबाट छायांकन सुरु गर्ने तयारीमा निर्देशक भाम थिए । तर, कोरोना भाइरसको महामारी र लकडाउनका कारण अब आउँदो बैशाख वा जेठबाट चलचित्रको छायांकन सुरु हुनेछ । ठूलो बजेटमा निर्माण हुन लागेको यो चलचित्रले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अनुदान तथा पुरस्कार प्राप्त गरिसकेको छ ।
निर्देशक मीनका अनुसार, चलचित्रले हिमाली गाउँको कथा भन्नेछ । बहुपति प्रथाको पृष्ठभूमिमा पेमा र लामाको यात्रा समेटिएको छ । यी दुई पात्र हराएका आफन्तको खोजीमा निस्कन्छन् । त्यस क्रममा उनीहरुको जीवनमा आउने उतार–चढाव एवं परिवर्तन चलचित्रको मूल मर्म हो । फिल्म ‘कालो पोथी’ बाट चर्चा कमाएका भामको नयाँ चलचित्र ‘चिसो वर्ष’ को दर्शकमा व्यग्र प्रतिक्षा छ ।




