सामाजिक विषयवस्तुमा मनछुने चलचित्र बनाउन सिपालु मानिने निर्देशक दीपेन्द्र के. खनालले आफूलाई कमर्शियल र आर्ट दुवै प्रकारका चलचित्रमा प्रमाणित गरिसकेका छन् । उनी कुशल छायांकार पनि हुन् । दुई चलचित्र ‘आमा’ र ‘धनपति’ मा उनको छायांकनको प्रशंसा भएको थियो । उनी निर्देशित चलचित्र ‘आमा’ लाई गत वर्षको उम्दा चलचित्र मानिएको छ ।
‘आमा’ ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको अवस्थामा देश लकडाउन भयो । यसपछि घरभित्रै सीमित भएका निर्देशक खनाल यतिबेला नयाँ चलचित्रका लागि स्क्रिप्ट लेखिरहेका छन् । ‘लगभग लगभग एउटा खाका त बनाइसकेको छु । तर, अलिकता रिसर्ज गरेर जोड्नु पर्नेछ । त्यसका लागि बाहिर निस्किएर खोज्नु पर्ने हुन्छ । काठमाडौंमै हुने जति त गरिरहेको छु,’ निर्देशक खनालले भने ।

उनले नयाँ चलचित्र पनि सामाजिक विषयवस्तुमा नै आधारित हुने बताए । उनले अगाडि भने- ‘‘आमा’ र ‘पशुपति प्रसाद’ मा त्यो बेलाको महत्त्वपूर्ण चिजहरु अथवा घटनाहरु समाजलाई भन्नुपर्ने थियो, त्यस्तै नै आउँछ नयाँ चलचित्रमा पनि । अहिलेसम्म राम्रै चिज बनेको छ जस्तो लाग्छ । ‘आमा’ भन्दा अझै राम्रो बनाउनु पर्ने चुनौती पनि थपिएको छ । त्यसैले स्क्रिप्टमा मिहेनत गरिरहेको छु ।’’
दशैंपछि छायांकन सुरु हुने चलचित्रलाई सर्मिला पाण्डेले निर्माण गर्नेछिन् । चलचित्र ‘लभ लभ लभ’ बाट निर्देशक खनालसँग व्यवसायिक सहकार्य गर्न थालेकी उनी पुनः समाजमा घटेको घटनामा नयाँ चलचित्र बनाउन लागेको बताउँछिन् । दर्शकले आफ्नो टिमबाट सामाजिक कथाका चलचित्र अपेक्षा राख्ने भएकाले ‘आमा’ भन्दा राम्रो चलचित्र बनाउन प्रयास गर्ने उनको भनाई छ ।




